यसरी गर्नुस् नोटको जतन, फोहोर गरे जेल



काठमाडौं । दसैं, तिहार र छठ लगायत चाडपर्वमा नेपालमा धेरै नयाँ नोट चलनचल्तीमा आउँछन् । चाडपर्वमा चलनचल्तीम आएका नोट फोहोर वा झुत्रा भएर प्रणालीमा फर्किने गरेका छन् । त्यसलाई कम गर्न राष्ट्र बैंकले सबै नेपालीलाई अपिल गरेको छ ।

नेपाल राष्ट्र बैंकले नोटलाई झुत्रा नबनाई प्रचलनमा ल्याउन आग्रह गर्दै आएको छ । सफा र सुकिला नोट मात्र चलनचल्तीमा आउन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति समेत लिएको छ ।

नोटको प्रयोग गर्दा नखुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीबाट भिज्न नदिने, पूजा आजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जोगाउने र जथाभावी रङ वा तेल नलाग्ने गरी जतन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

यसो गर्दा नयाँ नोट लामो समय टिक्नुको साथै किटाणुबाट सर्ने रोगको जोखिम कम हुने र झुत्रा तथा च्यातिएका नोटबाट हुने हैरानी बेहोर्नु नपर्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट नगद बुझिलिँदा वा नगद कारोबार गर्दा झुत्रिएका, मक्किएका, च्यातिएका, गलेका, लुलो भएका, नक्कली सक्कली छुट्टिने सुरक्षण विशेषताहरू पहिल्याउन गाह्रो हुने तर्फ राष्ट्र बैंकले सचेत गराएको छ ।

रङ पोतिएका वा लेखिएका वा कोरिएका, प्वाल पारिएका वा च्यातिएका नोट नलिई सफा र सुकिला नोट लिने गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

कसैसँग त्यस्ता झुत्रो तथा मैलो नोट भएमा नेपाल राष्ट्र बैंक वा आफ्नो खाता रहेको नजिकको बैंक तथा वित्तीय संस्थामा सटही गरी सफा नोट लिन भनेको छ ।

दसैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छ । यसरी नोट फोहोर वा झुत्रो हुँदा देशलाई मोटो रकम नोक्सान हुन्छ ।

चाडपर्वमा मन्दिरमा भेटीको रुपमा पैसा चढाउने गरिन्छ । पैसा चढाउँदा विषेश सतर्कताका अपनाएर नयाँ नोट चलाउनुपर्छ । नोटलाई सफा राख्न, झुत्रा हुन नदिन मन्दिरमा चढाउँदा सुख्खा नोटमात्रै चढाउने र नोट चढाएको ठाउँमा दूध वा पानीले नभिजाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

नोट जोगाउनका लागि टिका लगाएर दक्षिणा दिँदा दक्षिण खाममा राखेर दिनु धेरै राम्रो हो । त्यसो गर्दा नोटका रंग लाग्ने, चिसो हुने सम्भावना कम हुन्छ । यसेले नोटको सुरक्षा पनि हुन्छ । दसैं दक्षिणा भन्दा पनि आशिर्वाद लिने पर्व हो । तर, पनि दक्षिणा दिने प्रचलन रहेको छ । पछिल्ला वर्षहरुमा दक्षिणा पनि विद्युतीय माध्यम (क्यूआर कोड स्क्यान, डिजिटल वालेट, मोवाइल बैंकिङ) को प्रयोग गरेर दिने प्रचलन पनि बढ्दै गएको छ । तर, यसको प्रयोग सबैमाझ व्यवहारिक रुपमा भने हुन सकेको छैन।

दसैंमा डिजिटल दक्षिणा दिने भनिएपनि गाँउ घरमा अझै यो प्रचलनमा आउन सकेको छैन । अझै पनि गाँउघरमा टिका लगाएर आशिर्वादसँगै दिएको दक्षिणा थैली, पटुका, गोजीमा पोको पारेर राख्ने बाँनी छ । त्यसले पनि नोट छिटै झुत्रा हुने गरेका छन् । त्यसलाई कम गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

सफा नोटको नीति लिएको राष्ट्र बैंकले यसअघि नै पटक–पटक बैंक तथा वित्तीय संस्थाहरुलाई राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिइरहेको छ । चलन चल्तीमा पठाउन नमिल्ने नोटहरुमा बैंकहरुले रातो ट्याग लगाएर राष्ट्र बैंकलाई पठाउनुपर्छ । र, त्यस्ता नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट गर्छ । झुत्रा नोट जलाउँदा राष्ट्रको ढुकुटीमा बाट धेरै रकम खर्च हुनेगर्छ ।

नोट फोहोर गर्नेलाई कस्तो कारबाही ?

नोट छपाइमा अर्बौं रुपैयाँ खर्च भइरहेको छ त्यसैले नोटको जतन गर्नु सबैको कर्तव्य हो । नोट फोहर गर्नु गैरकानुनी हो । केरमेट भएको नोट नेपाल राष्ट्र बैंकले जफत पनि गर्न सक्छ ।

कागजी नोट वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न नपाइने व्यवस्था छ। यदि यसो गरेको भेटिएमा प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ ।

प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ । ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ को परिच्छेद २२ मा यस्तो व्यवस्था छ ।

नेपालमा पहिलो पटक नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलानसम्म हुने व्यवस्था थियो। नोट फोहोर गर्दा राष्ट्र बैंकको निर्देशन नमानेको आरोपमा कारबाही हुन्थ्यो।


क्लिकमान्डु