एनआरएनएको विवाद उत्कर्षमाः साइबर क्राइमसम्म पुग्यो निवेदन



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा देखिएको विवाद बढ्दै गएको छ ।

कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएका छन् । तर, यो परिणामलाई मान्यता दिन नसकिने भन्दै पराजित भएका अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले बताउँदै आएका छन् ।

महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए । अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरेपनि अहिले प्रमाणित भएको बताए ।

उनले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए । उनले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए । उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए । उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे ।

त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शुन्य हुनु समस्याको जड रहेको बताए । उनले शुन्य हुनु नहुनुपर्ने भएपनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने बताए । उनले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताए । उनले पुनः गणना गर्नुपरे पनि आफूहरु तयार रहेको बताए ।


क्लिकमान्डु