नागढुङ्गा सिस्नेखोला सुरुङमार्गः जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने



काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थालेका छन् ।

चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा नगरप्रमुख गिरीले बैठकमा तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने बताए ।

उले सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बैठकमा जानकारी गराए ।

नगरप्रमुख गिरीले भने, ‘नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका प्रभावित घरलाई तत्काल स्थानान्तरण गर्न घर भाडा उपलब्ध गर्न सिफारिस गरिएको छ । मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिवेदन पछि थप निर्णय गरिने छ ।’


क्लिकमान्डु