कस्तो मासु खाने ? खान नजाने निम्तिन सक्छ स्वास्थ्य जोखिम



वर्षैभरि मासु सेवन गर्नु र दसैंमा मात्रै खानु बेग्ला-बेग्लै विषय हुन् । वर्षैभर मासु खाएर पनि आच्छु नलाग्ने नेपालीलाई दसैंमा मासु नखाई हुँदैन ।

यो पर्वमा अधिकांश परिकार मासुकै हुन्छ । मासुका परिकार आफू पनि खाने र साथीभाइ तथा आफन्तजनलाई पनि जमघट गराएर खुवाउने चलन छ । मार हान्नेले आफैं खसी किनेर मार हान्छन् । बली प्रदान गर्नेले पनि आफैं किनेर मठ मन्दिरमा बली दिन्छन् । नहुनेले गच्छेअनुसार बजारबाट मासु किनेर ल्याउँछन् ।

दसैं यतिकै अत्यधिक भीडभाड र बेफुर्सदिलो पर्व हो । यो पर्व मनाइरहँदा मासुजन्य पदार्थको गुणस्तरीयता र स्वच्छतामा निक्कै ध्यान दिनुपर्छ । अत्यधिक परिमाणमा तेलीय पदार्थ प्रयोग गरी मासुकै विभिन्न परिकार उपभोग गर्दा स्वास्थ्यलाई हानी मात्रै होइन, अपत्यारिलो रुपमा गम्भीर दुर्घटनासमेत निम्त्याउन सक्छ । विज्ञहरुका अनुसार चाडपर्वको यस्तो माहोलमा थोरै खाऊँ तर शुद्ध र गुणस्तरीय मासु नै खाऊँ ।

यसबेला हृदय खोलेर आफू पनि खाइने र साथीभाइलाई पनि खुवाउने चलन छ । चिल्लो, पिरो, मसालेदार मासुका परिकारको बारेमा सचेत हुन खाद्य वैज्ञानिकहरुको सुझाव छ ।

खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कबाफ, सिंक कबाफ, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुस्लिम कबाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कबाफ, सेकुवा, मटन बिर्यानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकार अत्यधिक खाने गरिन्छ ।

विज्ञहरुका अनुसार यो समयमा मासुको गुुणस्तर नहेरी जताभावी मासु सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा हुन्छ । दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ ।

सामान्य समयभन्दा यो समयमा झन्डै १० दोब्बरको हाराहारीमा मासुको उपभोग हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य विज्ञ हस्तबहादुर राईका अनुसार मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्नु हुँदैन ।

उनका अनुसार बोसो भएको मासु पनि सकेसम्म खरिद गरी उपभोग गर्नु हुन्न । नेपाली बजारमा उत्पादन हुने मासुमध्ये करिब ८० प्रतिशत मासु अस्वस्थकर छन् । मासु उत्पादन हुने मूल स्रोत बधशाला नै अव्यावहारिक भएकाले शुद्ध मासुको अपेक्षा गर्न नसकिने उनको ठहर छ ।

‘मासुको ओसार पसार र भण्डारण वैज्ञानिक छैन,’ राई भन्छन्, ‘तथापि उपभोक्ताले आफैं सचेत भएर सकेसम्म स्वच्छ मासु उपभोग गर्न सक्छन् । सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन ।’

बंगुरको हकमा भने अत्यधिक बोसो भएको मासुले पनि क्षति गर्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा-टुक्रा बनाएर फ्रिज (रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ ।

‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरी आवश्कताअनुसार काटेर पकाउने,’ राईले भने, ‘बचेको मासु फेरि फ्रिजमा राख्ने र फेरि निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खानलाई अयोग्य मानिन्छ ।’

यस्तै पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निक्कै घातक हुनसक्ने उनको ठहर छ ।

यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुनसक्छ । मासुमा अम्लीयपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुनु हुँदैन । यस्तो भयो भने मासु कालो र फिक्का जस्तो देखिन्छ । यस्ता मासु सेवन गर्नु हुँदैन ।

खाद्य विज्ञ तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सञ्जीवकुमार कणर्का अनुसार डिप फ्रिजमा राखिएको मासु पनि तापक्रम नमिलेर मासुभित्र पानी जम्ने सम्भावना हुन्छ । यस्तो मासु पनि मानव स्वास्थ्यका लागि खान अयोग्य हुन्छ । प्रतिदिन १०० ग्रामसम्म मासु सेवन गर्नुपर्छ । कतिपय मासुमा पहिलेदेखि किटाणु यथावत हुन्छ ।

उक्त किटाणुले मासुमा विष छोड्ेको अवस्थामा त्यस्ता मासु पनि खान हुँदैन । मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खाँदा उत्तम मानिन्छ ।

प्रतिग्राम मासुमा १ लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिसलगायतका जीवाणु भेटिए खान अयोग्य मानिएको छ । बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुर्‍याउनेलगायतका समस्या देखापर्ने कणर्ले जानकारी दिए ।

दसैंको स्वच्छ मासुसँगै ताजा शुद्ध मसला र खानेतेल पनि उत्तिकै महत्व राख्छ । मासु शुद्ध हुने तथा मसला र खानेतेल अशुद्ध परेको अवस्थामा फुड प्वाइजन, वान्ता आउने, झाडा पखाला लाग्ने र आउलाग्ने जस्ता समस्या आइपर्छ । सकेसम्म दसैंको लागि मसला आफै तयार पार्नुपर्छ । खानेतेल पनि निक्कै सोचविचार गरी खरिद गर्नुपर्ने उनको तर्क छ । स्वास्थ्यका लागि मासुमा धेरै मसला र बोसो प्रयोग गर्न नहुने कणर्ले सुझाव दिए ।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको खाद्य विज्ञहरुको भनाइ छ । ‘धेरै दिन पुग्ने गरी एकै दिन मासु पकाएर खाँदा विभिन्न प्रकारका फुड प्वाइजन हुने खतरा हुन्छ,’ कणर्ले भने ।

उनका अनुसार रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रबल सम्भावना हुन्छ । मधुमेह र क्यान्सरजन्य रोगबाट प्रभावित भएकाले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न नहुने कणर्को सुझाव छ ।

‘त्यही भएर सकेसम्म ताजा मासुमात्रै खानुपर्छ । खसीबोकाको मासुसँगै कुखुराको मासु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा पचाउन पनि सजिलो हुन्छ । यसरी सन्तुलित खाना खाँदा शरीरमा बोसो पनि जम्मा नहुने अनि फाइदा पनि गर्छ ।’ उनका अनुसार एकपटकमा अधिकतम तीन-चार टुक्रा खाँदा फाइदा गर्छ मासुले ।

लोकल खसीमै छ स्वाद

दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्न खोज्दै हुनुहुन्छ भने सकभर खसीबोकासम्बन्धी सम्पूणर् जानकारी लिएर किनमेल गर्दा उत्तम हुन्छ । आवश्यक जानकारीबिना खरिद गरिने खसीबोकाले दसैं पर्वको रमझमलाई बेस्वाद बनाउन सक्छ ।

उपत्यकाको विभिन्न बजारमा अहिले भारतबाट आयात हुने र स्वदेशमै उत्पादन हुने खसीबोका बिक्रीका लागि राखिएका छन् । बजारमा अहिले कोही सेता छन् । कोही काला छन् । कोही खैरो छन् भने कोही मधुरो रातो रंगका भुत्ला भएका खसीबोका बजारमा यत्रतत्र छन् ।

कुनै हृष्टपुष्ट छन् । कुनै निक्कै अग्ला छन् भने कुनै होचो जस्ता पनि छन् । झट्ट हेर्दा सबै खसीबोका किनौं-किनौं जस्तो लाग्छ । लाग्छ ती सबै खसीबोका स्वस्थकर नै छ । सबैको मासु एकनाश नै छ । सबैको मूल्य समान नै छ । यो सोचाइ राखेर खसीबोका खरिद गर्दै हुनुहुन्छ भने तपाईंको छनौट गलत हुनसक्छ ।     

विज्ञहरुका अनुसार दसैंको समयमा बिक्री हुने खसीबोका खरिद गर्दा केही आधारभूत विषयवस्तुमा निक्कै ध्यान दिनुपर्ने हुन्छ । विज्ञहरु भन्छन्- स्वादिलो मासुको उपभोग गर्न सकेसम्म स्वदेशमा उत्पादन भएका ‘लोकल’ जातका खसीबोका नै रोजौं । लोकल जातको खसीबोकाको तुलनामा भारतबाट आयात हुने खसीबोका भने व्यावसायिक नाफा प्रयोजनका लागि उत्तम मानिए पनि स्वाद र स्वास्थ्यका लागि लोकल जातको खसीबोका उत्तम मानिन्छ ।

चौपाया खरिद-बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाका अनुसार स्वास्थ्यलाई ध्यानमा राखेर मिठो स्वाद भएको मासु खाने हो भने लोकल जातकै खसीबोका रोज्दा उत्तम हुन्छ । मूल्यमा लोकल जातका खसीबोका भारतीय खसीबोकाभन्दा केही महँगो भए पनि आफ्नै स्वदेशको उत्पादन राम्रो भएको उनले बताए । लोकल र भारतीय खसीबोका टाढाबाट हेर्दा उस्ता उस्तै देखिए पनि नजिकबाट हेर्दा फरक छुट्टयाउन सकिन्छ ।

दसैंमा बिक्री हुने खसीबोकामा सबैभन्दा पहिले सिंहमा ‘हरियो’ र ‘रातो’ रंग लगाइएको आधारमा छनौट गर्नुपर्छ । हरियो रंग स्वस्थ्यवद्र्धक गर्छ भन्ने जनाउँछ भने रातो रंग अस्वस्थ छ भन्ने बुझाउँछ ।

पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार लोकल खसीबोका खरिद गर्ने वा भारतीय खसीबोका खरिद गर्ने हो, त्यो विषयमा निक्र्यौल गर्नुपर्छ । स्वादिलो मासु र धेरै दिनसम्म मासु राख्नु छ भने लोकल जातकै खसीबोका खरिद गरेको जाति । यसका लागि खसीबोकाको शरीरमा दाग (खसीबोकाको शरीरमा रहेका भुत्ला कैंचीले टाटेपाटे गरी काटिएको छ वा छैन) छ वा छैन भन्ने हेर्नुपर्छ । लोकल जातको खसीबोकाको शरीरमा दाग हुँदैन ।

अर्थात् कैंचीले शरीरको भुत्ला टाटेपाटे गरी काटिएको हुँदैन । भारतीय खसीबोकामा भने यस्तो गरी काटिएको हुन्छ । त्यस्तै लोकल खसीबोकाको शरीरमा भुत्ला निक्कै बढी हुन्छ ।

‘लोकल जातको खसीबोकामा भारतीय खसीबोकाको तुलनामा मासु केही कम हुन्छ । बोसो पनि निक्कै कम हुन्छ । तर स्वस्थ्यकर र स्वादिलो मासु लोकलमै हुन्छ,’ डा. उपाध्यायले भने । उनका अनुसार लोकल खसीबोकाको मासु केही लामो दिनसम्म पनि जर्गेना गरी खान मिल्छ । मासु बिग्रिँदैन । तर, भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैन ।

गुणस्तरहीन मासुको प्रतिग्राम मासुमा १ लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिसलगायतका जीवाणु भेटिए खान अयोग्य मानिएको छ । बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुर्‍याउनेलगायतका समस्या देखापर्ने कणर्ले बताए ।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको खाद्य विज्ञहरुको भनाइ छ । ‘धेरै दिन पुग्ने गरी एकैदिन मासु पकाएर खाँदा विभिन्न प्रकारका फुड प्वाइजन हुने खतरा हुन्छ,’ कणर्ले भने ।

उनका अनुसार रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रवल सम्भावना हुन्छ । मधुमेह र क्यान्सरजन्य रोगबाट प्रभावित भएकाले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न नहुने कणर्को सुझाव छ ।

‘त्यही भएर सकेसम्म ताजा मासु मात्रै खानुपर्छ । खसीबोकाको मासुसँगै कुखुराको मासु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा पचाउन पनि सजिलो हुन्छ,’ उनले भने ।

हाइलाइट बुलेट

– हरियो र कालो फिक्का जस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्न हुन्न् ।

– सकेसम्म छाला र भएको मासु प्रयोग गर्नु हुँदैन् ।

– मासुलाई टुक्रा-टुक्रा पारी फ्रिजमा माइनस १८-३० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्ने ।

– पकाएको मासु फ्रिजमा राख्ने र खाने वेलामा तताउने । फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया घातक हुन सक्छ ।

– रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रवल सम्भावना हुन्छ ।

– माछा मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा राम्रो हुन्छ ।

– गुणस्तरयुक्त खानेतेल र मसला मात्रै प्रयोग गर्नुपर्छ ।


राजेश बर्मा