एनआरएनलाई बालुवाटारबाट नागरिकता दिँदै प्रधानमन्त्री



काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई सरकारले आजदेखि नागरिकता वितरण गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघको विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको बेला पारेर प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी निवास बालुवाटारबाट एनआरएनलाई नागरिकता वितरण शुभारम्भ गर्न लागेका हुन् ।

गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि संविधानमा रहेको गैर आवासीय नेपालीलाई नागरिकता लिने कानुनी बाटो खुलेको हो ।

वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएका गैर आवासीय नेपालीले चाहेमा नेपाली नागरिकता बनाउन सक्ने कानुनी व्यवस्था छ ।

एनआरएनको हकमा पाउने नागरिकताले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्नका लागि रहेको छ । उनीहरुले राजनीतिक र प्रशासनिक अधिकार प्रयोग गर्न पाउने छैनन् ।


क्लिकमान्डु