एनआरएनएको चुनावमा कसले मार्ला बाजी, अध्यक्षमा चारसहित १२० जनाको उम्मेदवारी

के राजनीतिक दल अझै हुन्छन् हाबी ?



काठमाडौंं । कुनै समय नेपालमा लगानी ल्याउने धनाड्य प्रवासी नेपालीको संगठन भनेर चिनिएको तर, हालैका वर्षहरुमा प्रवासी नेपालीको हित संरक्षण गर्न चुकेको, नेपालका राजनीतिक दलको पिछलग्गु भएको र अझ गत अधिवेसनमा त नेपाली राजनीतिक दलकै झल्को दिनेगरि तीन, तीन जना अध्यक्ष बनाएकोजस्ता आरोप झेलिरहेको गैर आवासीय नेपाली संघको (एनआरएनए) चुनावी अधिवेशन सुरु भएको छ ।

सामान्यतया हरेक वर्ष संघ स्थापना दिवसको दिन अक्टोबर ११ को सेरोफेरोमा हुने एनआरएन सम्मेलन यसपटक दसैं ढिला भएको कारण अक्टोबर १७ (असोज ३०) बाट सुरु हुदैछ । असोज ३० देखि कात्तिक ३ गतेसम्म चल्ने अधिवेसनले यसपटक नयाँ नेतृत्व पनि चुन्नेछ ।

असोज ३० गते देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुने एनआरएनएको महाधिवेशनमा वर्तमान अध्यक्ष बद्री केसी र रबिना थापा तथा उपाध्यक्षहरु महेश श्रेष्ठ र राजेन्द्र प्रसाद (आरके) शर्माले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । साथै, ६ उपाध्यक्ष पदको लागी १८ जनाको उम्मेद्वारी परेको गैर आवासीय नेपाली संघ, निर्वाचन समितिको कार्यालय, काठमाडौंले जनाएको छ ।

एक अध्यक्षको पदको लागी मैदानमा चारजना देखिए पनि विगतका केहि वर्ष झैं यसपटक पनि एनआरएनएको चुनावमा नेपाली राजनीतिक दल निकै हाबी हुने देखिएको छ । गत चुनावमा पनि राजनीतिक दल हाबी भएकै कारण दुई वर्षे कार्याकालका लागी तीनजना अध्यक्ष बनाइएको थियो ।

त्यसैले यसपटक पनि एनआरएनलाई राजनीतिबाट मुक्त बनाउने भनिएपनि काँग्रेस, एमाले र माओवादीबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको सहभागिहरु बताउँछन् ।

चुनावमा होमिएका आर के शर्मा माओवादी समर्थित, महेश श्रेष्ठ र रबिना थापा काँग्रेस र बद्री केसी एमाले समर्थित हुन् । आर के शर्मा माओवादी समर्थित भएपनि उनको प्यानलमा वर्तमान गठबन्धन सरकारका कारण करिब ६० प्रतिशत उम्मेदवार काँग्रेस समर्थित रहेका छन् । बाँकी ४० प्रशितमा अधिकांश माओवादी र केही छिटफुट एमालेका रहेका छन् ।

चितवनका शर्मालाई पूर्व अर्थमन्त्री जनार्दन शर्माको निकै ठूलो साथ र सहयोग रहेको बताइएको छ ।

यसैगरि, महेश श्रेष्ठको समूहमा अधिकांश उम्मेदवार काँग्रेस समर्थित रहेका छन् । केही माओवादीका पनि रहेका छन् ।

बद्री केसीको समूहमा करिब ८० प्रतिशत नेकपा एमाले समर्थित रहेका छन् भने बाँकी केही काँग्रेस र माओवदी रहेका छन् ।

शर्मा कतारमा व्यवसाय गर्दै आएका छन् भने केसी रुसमा र श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका छन् । यसैगरि, महासचिवका पदका दुबै प्रतिस्पर्धी यसपटक अमेरिकाबाट रहेका छन् ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले महासचिवका उम्मेद्वारद्वय गौरीराज जोशी र बुद्धिसागर सुवेदी कसलाई साथ दिने हुन् र बाँकी रहेका एक जनालाई कसले साथमा लिने हुन् त्यसले चुनावको परिणाममा ठुलै परिवर्तन ल्याउने आंकलन एनआरएन प्रतिनिधिहरुको छ ।

दुई वर्षे कार्यकाल हुने अध्यक्ष एक, उपाध्यक्ष ६, महिला उपाध्यक्ष एक, युवा उपाध्यक्ष एक, महासचिव एक, उप महासचिव दुई, सचिव ६, महिला सचिव एक, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष तीन, महिला सहकोषाध्यक्ष एक, महिला संयोजक एक, युवा संयोजक एक, प्रत्येक क्षेत्रमा एक गरी क्षेत्रीय संयोजक ६, अफ्रिका क्षेत्रमा दुई र अन्य क्षेत्रमा तीन गरी क्षेत्रीय उपसंयोजक १७, क्षेत्रीय महिला संयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ तथा दोस्रो पुस्ताको गैर आवासीय नेपाली संयोजक एक गरि कार्यसमितिमा ७४ जना जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि चुनाव हुने गैर आवासीय नेपाली संघ, निर्वाचन समितिको कार्यालय, काठमाडौंले जनाएको छ । यी पदका लागी १२० जनाको उम्मेद्वारी परेको छ ।

कतिपय पदमा उम्मेद्वारी नै परेको छैन भने कतिपय पदमा एक एक जनाले मात्र उम्मेद्वारि दिएको अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले जनाएको छ ।

‘ज्ञान र रुपान्तरण : समृद्धिको आधार’ नारा सहित मंगलबारदेखि आयोजना हुन गैरहेको अधिवशेनका लागि संसारभर छरिएका ४ हजार २२७ अन्तर्राष्ट्रिय प्रतिनिधि छानिइसकेका छन् ।

यसपटक अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नका लागि महाधिवेशनस्थल नेपालमा आउनु पर्दैन तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नै पुग्नुपर्छ । एक उम्मेदवारले दुई प्रस्तावक र दुई समर्थकसहित उम्मेदवारी दिनुपर्छ ।

एनआरएनएले पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको हो । मतदान गर्न ‘फेसियल भेरिफिकेशन’ एप प्रयोग गरिने भएको छ । मतदान हुनु २४ घण्टाअघि सबै मतदातालाई यो एपको लिङ्क पठाइने छ । लिंक खोलिसकेपछि अनुहार देखाएर त्यस एपले अनुमति दिएपछि मात्र मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल आउने उम्मेदवार तथा अन्य मतदाताका लागि महाधिवेशनस्थलको निश्चित स्थानमा राखिएका कम्प्युटरमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ । उम्मेदवार र अन्य मतदाता गरी १ हजार ५०० हाराहारीले महाधिवेशनस्थलबाट मतदान गर्ने अनुमान गरिएको छ ।

संसारभर छरिएका नेपालीले आफनो मातृभुमिमा ज्ञान, शीप तथा प्रबिधीसहित लगानी भित्र्याउने उद्देश्य लिएर २००३ अक्टोबर ११ तारिखमा स्थापित गैरआवासीय नेपाली संघ, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ अनुसार विधिवतरूपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

एनआरएनएमा हालसम्म उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष भइसकेका छन् ।

एनआरएनको अघिल्लो महाधिवेशनको चुनावमा राजनीति हाबी भएका कारण विवाद बढेपछि तीनजना अध्यक्ष रहने गरी सहमति गरिएको थियो । हालको समितिमा तीन अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसीले छ–छ महिना कार्यकारी अध्यक्ष हुने गरी सहमति गरेका थिए । यसपटक भने यो क्रम तोडिने र चुनावमार्फत एकजना अध्यक्ष छानिने अपेक्षा रहेको प्रतिनीधिहरुको भनाइ छ ।

यस बाहेक पूर्व अध्यक्ष शेष घलेले आफनो छुट्टै एनआरएनए बनाएका छन् । यस विषयमा अदालतमा मुद्दा विचाराधीन छ ।

एनआरएनए अध्यक्ष पदका चारै उम्मेदवारले आफूले अघि सारेका एजेन्डालाई सघाउन आफ्ना प्रतिस्पर्धीहरूलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अध्यक्षका प्रत्याशी डा बद्री केसी र महेश श्रेष्ठलाई उम्मेदवारीबाट ब्याक हुन आग्रह गर्दै आफूले सबैको एजेन्डालाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए भने समृद्ध नेपाल निर्माणका साथसाथै एनआरएनए एकता बनाउने आफ्नो अभियानलाई साथ दिन डा केसी र श्रेष्ठसँग आग्रह गरेका थिए ।

एनआरएनएमा राजनीति भइरहेकोमा सबै उम्मेद्वारले चिन्ता जनाए पनि राजनीतिक दलको आशिर्वाद भने आफुलाई मात्र प्राप्त हुने अपेक्षा राखेका छन् । जसको कारण एनआरएनए संस्था नै पनि पछिल्ला वर्षहरुमा विवादीत भएको छ ।

समृद्ध नेपाल निर्माणका लागि लगानी भित्र्याउने, प्रवासी नेपालीको दुख सम्बोधन गर्ने, गैर आवासीय नेपालीको दोस्रो पुस्तालाई जोड्नका लागि समन्वय गर्ने, नीतिगतरुपमा सामूहिक लगानीमार्फत नेपालको विकामिा योगदान दिनेजस्ता चुनावी नारा भए पनि चुनाव जित्न राजनीतिक दलको लौरो टेक्नु पर्ने स्थिती दुखद भएको प्रत्यासीहरु आफै पनि बताउँछन् ।

प्रवासी नेपालीको लगानी पनि पछिल्ला वर्षहरुमा नेपालमा घट्दै गएको तथा विभिन्न आरोप लाग्न थालेका कारण काठमाडौंको सोल्टीमा मंगलबार हुने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशन तथा विश्व सम्मेलनमा यस विषयमा गहन छलफल हुने अध्यक्ष पदका एक प्रतिस्पर्धीले बताए ।

विभिन्न विवाद भए पनि एनआरएनएले आफनो यात्रा जारी राख्ने भन्दै एनआरएनएका एक संस्थापक भीम उदास भन्छन्, दोस्रो पुस्ताको एनआरएन संस्थामा आएपछि एनआरएनए परिस्कृत हुन्छ । पछिल्लो समय एनआरएको लगानी नेपालमा घट्नुमा पनि उनी नेपाल सरकारको ढिलासुस्तीलाई दोष दिन्छन् ।


क्लिकमान्डु