सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्रमा सधैं फ्लाइटको समस्या, सर्वसाधारणको पहुँचबाहिर हवाई टिकट
काठमाडौं । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकूलता र एयरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको छ ।
नेपाल वायुसेवा निगमका उडान अत्यन्तै न्यून भएको तथा निजी एयरलाइन्सले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो । नेपालगन्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधारणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई । सामान्य ढंगले आफैं टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि पाउन नसकिने अवस्था रहेको स्थानीय बताउँछन् ।
सुत्केरी गराउन नेपालगन्ज आएकी लुम्बिनी प्रदेश रुकुम पूर्वकी टीका शाहले घर फर्कन जहाजको टिकट पर्खिरहेको बताइन् । उनका अनुसार नेपालगन्ज आउने समयमा पनि जहाजको टिकट सहजै पाइएको थिएन । रुकुमपूर्व सिस्नेकी शाह जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगन्ज आएको हुन् । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता र उता गरिरहेकी थिइन् ।
‘फ्लाइट पनि गाह्रो छ । पाइँदैन । उतै अपरेसन भए पनि ब्लड पाइँदैन । आईसीयू छैन । सेवा सुविधा केही पनि छैन । सके पनि नसके पनि नेपालगन्ज आउनैपर्ने बाध्यता छ । अब यहाँ यतिका समय भइसक्यो फ्लाइट नै पाइँदैन,’ उनले भनिन् ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगन्ज आएकी छन् । जुम्ल्याहा नानीहरुकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन । एक महिना भइसक्यो नेपालगन्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उनमा छ ।
‘म डेलिभरीका लागि यहाँसम्म आएको हुँ । रुकुम पूर्वदेखि पश्चिम पठाइदियो । दुईवटा बच्चा छ, नेपालगन्ज जानुपर्छ भनेकाले आएको । यहाँ आएपछि । अपरेसन भयो । चार दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौं । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ,’ उनले भनिन् ।
कर्णाली प्रदेशको हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिकाका विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछन् । कसैलाई भनसुन नगरी हवाई टिकट पाउन नसकिने अनुभव उनको छ ।
‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन । निगमलाई सिस्टममा ल्याउन सकिएको छैन । मुख्य समस्या यही हो । प्राइभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन्,’ उनले भने, ‘मुख्य कुरा टिकट नै पाइँदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गाह्रो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउला ?’
विदेशी टोली आउँदा दिनमा ५ वटासम्म चार्टर गर्ने निजी एयरलाइन्सले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरु बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरु हवाई उडान सेवाप्रति नै आक्रोशित बन्दै गएका छन् ।
नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरी स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ ।
निगमको जहाजको उडान धेरैजसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शंका पनि स्थानीयको छ । निजी एयरलाइन्सहरुले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्लबल्ल टिकट पाएका सर्वसाधारण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।