गाजा युद्ध: एक सातामा १० लाख मानिस विस्थापित भएको अनुमान



एजेन्सी । विवादित क्षेत्र गाजामा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको युद्धका कारण करिब १० लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय राहत तथा सहयोगसम्बन्धी निकायका अनुसार गाजामा जारी द्वन्द्वयता करिब १० लाख मानिस विस्थापित भएका हुन् ।

राष्ट्रसंघका अनुसार मानिस घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो संख्या अझै बढ्ने सम्भावना छ । गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकु समूहले गरेको आक्रमणमा १ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।

इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकु र उनीहरू लुकेको स्थानलाई लक्षित गरी भएको हवाई आक्रमणमा २ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

हमासले १२६ लाई बनायो बन्धक

घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले जनाएको छ । अक्टोबर ७ को आक्रमणपछि हमासले इजरायलीसहित अन्य देशका १२६ जनालाई बन्धक बनाएको अनुमान इजरायली अधिकारीहरूले गरेका छन् ।

सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ । सेनाका प्रवक्ता रिचार्ड हेक्टका अनुसार हमासले एक्कासि गरेको आक्रमणको जवाफमा सुरु गरेको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको छ ।

हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी हमासले दिएको छ ।


क्लिकमान्डु