सिबिफिनबाट लेखक तथा पत्रकार पुरस्कृत



काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले लेखक तथा पत्रकारलाई पुरस्कृत गरेको छ ।

सिबिफिन र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उनको विशेष जोड दिए ।

कार्यक्रमका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रतिवेदनले सरकार, मातहतका निकाय र सरोकारवालाहरुलाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा जानकारी गराए ।
कार्यक्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था र आर्थिक एवं औद्योगिक क्रान्तिका लागि अब कदम चाल्नुपर्ने बताए ।

उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित उक्त क्षेत्रहरुमा लगानी विस्तार नगरी देश विकास नहुने बताए । उनले सरकारले उपयुक्त नीति एवं वातावरणसहित निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने औँल्याए ।

समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्ष्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५औँ स्थानभित्र पर्न सफल लेखका सर्जकलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलाखे र नवराज अधिकारीका लेखहरुले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्त गर्दै क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजारसहित प्राप्त गरेका छन् ।

थप १० उत्कृष्ट लेखका सर्जक तथा पत्रकारहरु कमल बहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मत बहादुर नेपाली र वेणु प्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद १० हजार प्राप्त गरेका छन् ।


क्लिकमान्डु