महँगी नियन्त्रण नहुँदासम्म आर्थिक वृद्धि हुन सक्दैन, ब्याज बढाएर महँगी घटाउने हो: आईएमएफ



मोरोक्को (माराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना गर्गिएभाले महँगी नियन्त्रणमा नआउँदासम्म ब्याजदर घटाउन नमिल्ने बताएकी छन् ।

मोरोक्कोमा माराकेसमा बिहीबार ग्लोबल पोलिसी एजेन्डा २०२३ सार्वजनिक गर्दै गर्गिएभाले न्यून आय भएका देशको अर्थतन्त्र कोरोना महामारीभन्दा पूर्वको अवस्थामा पुग्न समय लाग्ने बताइन् ।

महँगी नियन्त्रणमा नआएकाले अझै लामो समय ब्याजदर माथि रहने भएकाले अल्पविकसित देशमा झनै समस्या हुने उनको भनाइ छ ।

‘सबै देशको पहिलो नीतिगत प्राथमिकता महँगी नियन्त्रण गर्नमा हुनुपर्ने हाम्रो सुझाव छ । आर्थिक वृद्धिका लागि महँगी नियन्त्रण हुनैपर्छ,’ उनले भनिन्, ‘महँगीले प्रभावित हुने न्यून आय भएकालाई राज्यले सहयोग गर्नुपर्छ । सरकारहरुको दोस्रो प्राथमिकता वित्तीय स्थायित्व कायम गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’

अमेरिका, युरोपलगायतका संसारभर ब्याजदरमा भएको वृद्धिले कर्जाको गुणस्तर कमजोर हुने र वित्तीय स्थायित्वमा समस्या आउन सक्ने भएकाले सरकारहरुले नियमन झनै कसिलो बनाउनु कोषको सुझाव छ । गर्गिएभाले सरकारहरुको तेस्रो प्राथमिकता सरकारी खर्च बढाउनेतर्फ हुनुपर्ने बताइन् ।

‘न्यून आय भएका देशहरुले अनावश्यक खर्च कटौती गर्न, राजस्वका नयाँ–नयाँ क्षेत्र पहिचान गर्न र पुँजी निर्माण हुने क्षेत्रमा खर्च बढाउन आवश्यक छ,’ उनले भनिन्, ‘आधुनिक पूर्वाधार निर्माण, प्रविधिको प्रयोगलगायतका काम गरेर क्रमश: आर्थिक वृद्धि गर्नतर्फ सरकारहरु केन्द्रित हुनुपर्छ ।’

विभिन्न देशहरुले सहकार्य बढाउँदै आगामी दिनमा आउने आर्थिक चुनौती सामना गर्नतर्फ लाग्नुपर्ने गर्गिएभाले बताइन् । कोषले न्यून आय भएका र जोखिममा भएका देशहरुमा ४० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


क्लिकमान्डु