नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासो सूचीबाट हटाउन अर्थमन्त्रीको आग्रह



मोरोक्को (माराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू) का कमिस्नर युटा उर्पियालिनेनलाई भेटेर नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरोक्कोमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् । उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन पनि अनुरोध गरे ।

सन् २०१३ देखि ईयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसका कारण नेपाली वायु सेवा कम्पनीले युरोपको आकाशमा उडान भर्न पाएका छैनन् ।

ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । २०७९ फागुनमा हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि ईयूको टोली नेपाल अनुगमनमा आएको थिएन ।

यस वर्ष साउन र भदौमा ईयूको हवाई सुरक्षा कमिटीले नेपाली वायु सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा ईयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपालका वायु सेवा कम्पनी हवाई सुरक्षा चासोमै थिए ।

हरेक ६ महिनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोलीसँग आग्रह गरेका हुन् । जवाफमा युटाले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताइन् ।


क्लिकमान्डु