दुर्गा प्रसाईको क्षेत्रमा महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत सहभागी कार्यक्रममा पार्किङमा राखिएका एमाले कार्यकर्ताको गाडीमा तोडफोड भएको छ ।
युवा संघको झापास्थित अर्जुनधारा नगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुन बस्नेत सहितका एमाले नेता पुगेका थिए । कार्यक्रम जारी रहेको बेला पार्किङमा राखिएका एमाले कार्यकर्ताहरुको गाडी तोडफोड भएको हो ।
पहिचानवादी र दुर्गा प्रसाई पक्षका कार्यकर्ताले गाडीमा तोडफोड गरेको युवा संघका स्थानीय नेताको आरोप छ । बस्नेतले भने कार्यक्रम बिथल्छु भन्ने अराजक र नस्लवादीहरुलाई चुनौति दिँदै क्रान्तिकारी युवाहरुले ३ सय गाडी र ५ सय बाइकले स्वागत गरेर झापा एमालेको गड हो भन्ने प्रमाणित गरेको बताएका छन् ।
केही दिन अघि काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि एमाले निकटको युवासंघका कार्यकर्ताले कालोमोसो दलेको भन्दै यसको पैंचो तिर्ने चेतावनी दिएका थिए ।
जवाफमा युवा संघका पूर्वअध्यक्ष बस्नेतले प्रसाईलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका थिए । ‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन् । अब सुध्रिउँ, अरुलाई दोष नलगाउँ । यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’ बस्नेतले भनेका थिए ।