महँगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग



काठमाडौं । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महँगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले चाडपर्वको बेलामा महँगी बढेको बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएको भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताए । उनले कालोबजारी मौलाएको भन्दै सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको बताउनुभयो । जनतामाथि खेलवाड नगर्न सरकारलाई चेतावनी समेत दिए ।

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए । उनले सरकारले महँगी नियन्त्रण गर्छ भन्नेमा जनतामा आशा पनि नरहेको बताए । उनले सामाजिक सञ्जालमार्फत ठगीको घटना पनि भइरहेको भन्दै प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उपभोग्य वस्तुको मुल्य अकासिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । कालोबजारी बढेको, कृतिम अभाव भएको र गाडी भाडा बढाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपाल भारत सिमानाकामा सुरक्षाकर्मीले चेकजाँचको नाममा हैरानी दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने उनले बताए ।

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानले महिनौँदेखि दुधको मूल्य नपाएका भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गरे ।

प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले चाडपर्वको समयमा बजार भाउको नियन्त्रण हुनुपर्ने बताए । उनले दैनिक उपभोग्य सामग्रीहरुको अभावको परिपूर्ति गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले महंगी र अभावलाई हटाउन अनुगमन हुनुपर्ने बताए । उनले सुलभ खाद्यान्न पसलको व्यवस्था गर्न र सुलभ टिकट र यातायातको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई नेपालकै विश्वविद्यालयमा शिक्षा प्राप्त गर्न सहज वातावरण बनाउनुपर्ने बताए ।
उनले विदेशमा हुनसक्ने अन्य विपद्का घट्नाहरुप्रति सरकार सजग हुनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले गैर आवासिय नेपालीहरुलाई नागरिकता दिनका लागि गैर आवासिय नेपाली कार्ड अनिवार्य गर्नु नहुने बताए ।

उनले गैर अवासीय नेपालीहरुले सहज रुपमा नागरिकता पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।


क्लिकमान्डु