चालु पुँजी कर्जा मार्ग निर्देशनको कारण थप लगानी हुन सकेनः निजी क्षेत्र



काठमाडौं । चालु पुँजी कर्जा मार्ग निर्देशनको कारण बैंकमा भएको लगानी योग्य रकम लगानी हुन नसकेको निजी क्षेत्रले बताएको छ ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा निजी क्षेत्रका छाता संगठनहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाल राष्ट्र बैंकले लागू गरेको चालु पुँजी कर्जाको कारण उद्योगी व्यवसायीहरुले ऋण लिन नचाहेको बताए ।

निजी क्षेत्रका छाता संगठनहरुले बजारमा पुँजी लगानी नभएसम्म मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै राष्ट्र बैंकले बैंकमा रहेको लगानीयोग्य रकम लगानी पर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ५ खर्ब जति बैंकहरुमा अधिक तरलता रहेपनि कर्जा लिने व्यवसायीहरु नभएको बताए । उनले बैंकको अधिक तरलतालाई लगानीमैत्री वातावरण बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

बैंकहरुमा भएको रकम लगानी हुन नसक्दा अर्थतन्त्रमा संकुचन आउन थालेको उनको भनाइ थियो । सरकारले घरजग्गा कित्ताकाट खोले पनि निर्देशिका र नियम बनेको छैन भन्ने नापी र मालपोत कार्यालयहरुले काम नगरेको गुनासो उनको थियो ।

प्रधानमन्त्रीले निर्देशन नै दिएर एक्सनमा योजना बनाएर काम गर्न लगाउन उनले माग गरे । घरजग्गा कारबोर खच्किँदा अर्थतन्त्र पनि मन्दीमा गएको भन्दै घरजग्गा कारोबारमा रहेका समस्या तत्काल समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै,नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रबहादुर पाण्डेले चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको कारण बैंकको लगानी योग्य रकम लगानी हुन नसकेको बताए ।

चालु पुँजी कर्जा माग निर्देशनले व्यवसायीहरुले कर्जा लिने र लगानी कटौती गरेको उनले बताए । बैंकहरुमा लगानी योग्य पुँजी भए पनि व्यवसायीहरुले ऋण लिन नसकेको उनको भनाइ थियो ।

बैंकहरुमा लगानी योग्य पुँजी लगानी हुन नसक्नु अर्थतन्त्रको समस्या भएको उनले बताए । लगानी नगर्ने र खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने पाण्डेले बताए । अहिलेकै अवस्थाले निरन्तता पाउने हो भने देशमा आर्थिक गतिहीन हुने सम्भावना रहेको उनले बताए ।

‘उपभोक्ताहरुदेखि व्यवसायीहरुले समेत लगानीमा कटौती गरिरहेका छन् । बजारमा पैसा गएको छैन । बजारमा पैसा नगएपछि अर्थतन्त्र चलायमान हुन सक्दैन । यही अवस्था रहने हो भने देशमा आर्थिक गतिहिनता गहिरिने सम्भावना देखेका छौं’ उनले भने, ‘अर्थतन्त्रमा कन्जक्सन डाउन ब्रेकको स्थिति सिर्जना भएको छ । व्यक्ति तथा घर परिवारले अत्यावश्यक बाहेकमा खर्च र उपभोग स्तरमा कटौती गरेका छन् । न्युन बजार आर्थिक गतिविधिले पुष्टि गरेको छ । अन्य वस्तु वा सेवाको अवस्था निराशाजनक छ । अर्थतन्त्रमा सरकारले तत्काल प्रभावकारी कदम नचाल्ने हो भने छिटो अवधिमा नै डिप्रेशनमा जाने चिन्ता व्यक्त भइरहेको छ ।’

उनले विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन अर्थतन्त्रको लागि उपयुक्त नहुने भन्दै विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन सरकारले मान्दा अर्थतन्त्रमा समस्या आएको निजी क्षेत्रले ठहर गरेको बताए ।


क्लिकमान्डु