लुटेरा समूहलाई नियन्त्रणमा लिन काठमाडौंमा प्रहरीले चलायो गोली, एक जना घाइते
काठमाडौं । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंमा गोली चलाएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ ।
लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएकाक हुन् । उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
घाइतेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।