भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, नेपाललाई दिइएन जानकारी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई जानकारी नै नदिई कालापानी क्षेत्रको भ्रमणमा आएका छन् । मोदी हेलिकप्टर चढेर बिहीबार बिहान कालापानीमा आएका हुन् ।

मोदीले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्नुका साथै भारतको पिथौरागढ र नेपालको गुन्जी क्षेत्रका बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । तर, यसबारे नेपाल सरकारलाई कुनै जानकारी छैन ।

उनले भ्रमण गर्ने क्षेत्र नेपाल-भारत सिमानामा पर्छन् भने गुन्जी नेपाली भूमि हो । नेपाल सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटीलगायतका भू-भाग समेटिएको छ । भारतले सो नेपाली भूमिलाई आफ्नो दाबी गर्दै आएको छ ।

दार्चुलाकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण जोशीका अनुसार भारतीय पक्षले मोदीको भ्रमणबारे जानकारी गराएको छैन । ‘नेपालको गुन्जी क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभएको अनौपचारिक जानकारी हामीले पनि पाएका हौं, अहिले भारतकै पिथौरागढतर्फ गइसक्नुभएको सुनिएको छ,’ उनले क्लिकमान्डुसँग भनिन्, ‘तर हामीलाई औपचारिक जानकारी दिइएको छैन ।’

भारतीय सेनाले अरु नै समयमा पनि लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटीलगायतका भू-भागमा जान अवरोध गर्ने गरेको सीडीओ जोशीले बताइन् । ‘अरु बेला पनि नोटिफाइड एरिया भनेर हामीलाई जान दिइँदैन,’ उनले भनिन्, ‘भ्रमणबारे जानकारी किन दिइएन भनेर बुझ्न खोज्दा पनि जानकारी पाइएन ।’

भ्रमणमा मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलगायत पनि कालापानी क्षेत्र आएको बुझिएको छ । सामाजिक सन्जाल एक्समा मोदीले पिथौरागढमा परियोजनाहरुको शिलान्यास गर्ने उल्लेख छ । त्यस्तै गुन्जी गाउँका बासिन्दासँग संवाद गर्ने पनि बताएका छन् ।


क्लिकमान्डु