अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय संयन्त्र बनाएर ‘र्‍याडिकल रिफर्म’ गर्नुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रस्ताव स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसहितको बलियो संयन्त्र बनाउने जानकारी गराएका हुन् ।

‘यसले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न राम्रो पहल हुने विश्वास छ, अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय संयन्त्र बनाएर ‘रेडिकल रिफर्म’ गर्नुपर्छ, टालटुले नीतिले अहिलेको समस्या समाधान हुँदैन,’ महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा उनले भने । अहिले अर्थमन्त्री विदेश भ्रमणमा भएकाले स्वेदश फर्केपछि संयन्त्र बनाउने काम अघि बढ्ने उनले जानकारी गराए ।

‘बैंकको ब्याज घटाउन कोसिस भयो । वित्त नीति र मौद्रिक नीतिबीचको तालमेल मिलाउन निकै लागियो, कित्ताकाट खुलाइयो तर पनि अर्थतन्त्र उक्सन सकेन,’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्र समस्यामा भएकाले केही बोल्ड निर्णय नगर्ने हो भने समस्या गम्भीर हुनसक्छ, अर्थतन्त्रमा आएको दबाबको सामना गर्न समस्या हुनसक्छ ।’

सरकारले देशको आर्थिक अवस्थाका बारेमा गम्भीर छलफल गर्ने तयारी गरेको पनि उनले जानकारी गराए । निजी क्षेत्रलाई प्रोत्साहन गरेका देशको तीव्र आर्थिक विकास भएको र नेपाल अझै पनि देशकै कानुनको बन्दी भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

अहिले बैंकमा थुप्रेको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउने वातावरण बनाउन आवश्यक रहेको उनको धारण छ । ‘अब र्‍याडिकल रिफर्म चाहिएको, यसका लागि निजी क्षेत्र, सरकारी निकाय र विज्ञ बसेर निर्क्यौल निकाल्नुपर्छ,’ प्रचण्डले भने ।


क्लिकमान्डु