आयात प्रतिबन्धले विदेशी विनिमय सञ्चितिभन्दा तस्करी बढायो: अच्युत वाग्ले



काठमाडौं । अर्थशास्त्री डा. अच्युत वाग्लेले नेपालमा आउने वैदेशिक लगानी खानामा अचार जस्तो मात्रै भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा उनले नेपालमा वैदेशिक लगानी पर्याप्त आउन नसकेको टिप्पणी गरेका हुन् ।

नेपालको निर्यात व्यापार कहिल्यै माथि उठ्न नसकेको उनले बताए । डा. वाग्लेले नेपालमा आउनेमध्ये आधा मात्रै विप्रेषण औपचारिक रुपमा आउने र आएको विप्रेषण पनि आधा बाहिर नै जाने गरेको तर्क गरे ।

सरकारले ५० प्रतिशत पुँजीगत बजेट खर्च गर्ने र ठेकेदारको ६० अर्ब भुक्तानी दिने हो भने बजारमा पैसा जाने र अर्थतन्त्र चलायनमान हुने उनको दाबी छ । ‘सरकारले यति पनि काम नगरेका कारण बजारमा पैसा अभाव भएको हो,’ उनले भने ।

राष्ट्र बैंकले गरेको आयात प्रतिबन्धका कारण विदेशी विनिमय सञ्चिति नबढेको, बरु त्यसले तस्करी बढेको डा. वाग्लेको तर्क छ ।

रियल इस्टेट कारोबार फस्टाएको भए पनि यो अभिभावकविहीन भएको उनले बताए । यसलाई कानुनी दायरामा ल्याउने भनेर ४ पटकका बजेटमले भने पनि काम हुन नसकेको तथ्य उनले पेस गरे । उद्योगका लागि र खेतीका लागि भनेर जमिन छुट्याउन वाग्लेले सुझाव दिएका छन् ।

त्यस्तै सेयर बजारलाई अर्थतन्त्रको सबल पक्ष बनाउन पनि उनले सुझाव दिए । नेपालमा भारत र चीनका विद्यार्थी पढाउन, कृषि उपजलाई सप्लाई चेनमा जोड्न, भ्यालु टुरिजम तथा डिजिलट फाइनान्समा ध्यान दिन आवश्यक रहेको डा. वाग्लेको भनाइ छ ।


क्लिकमान्डु