काठमाडौंमा घरसहितका संरचनाको कर निर्धारण गराउन महानगरको आग्रह, नगरे कारबाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास भए/नभएका संरचनाको कर निर्धारण गराउन आग्रह गरेको छ ।
काठमाडौं महानगरले महानगरको राजस्व ऐन, २०७५ को दफा (६) उपदफा (४) मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै व्यक्तिको आफ्नै स्वामित्वमा रहेको जग्गामा नक्सा पास गरि वा नगरी चौघरा हाली निर्माण भएको स्थायी वा अस्थायी घर, टहरा, छप्पर, सेड जस्ता संरचना समेतलाई सम्पत्ति कर प्रयोजनकालागी घर मानी मूल्यांकन गरी कर निर्धारण गरिनेछ भन्ने व्यवस्था रहेको स्मरण गरउँदै नक्सा पास भएक/नभएका संरचनाको सम्पत्ति निर्धारण गर्न आग्रह गरेको हो ।
भवन नक्सा स्वीकृति नभएका घर/भवनहरुको स्थलगत नापजाँच वडा कार्यालयका इन्जिनियरद्वारा गरी प्राप्त प्रविधिक प्रतिवेदनका आधारमा सम्पत्ति कर निर्धारण गर्न महानगरले आग्रह गरेको छ । साथै भवन नक्सा स्वीकृति भएका हकमा भवन निर्माण सम्पन्नताको प्रमाणपत्रमा उल्लेखित क्षेत्रफल तथा सोहि भवन थपघट भएमा प्रविधिक प्रतिवेदनका आधारमा सम्पत्ति कर निर्धारण गर्नुपर्ने महानगरले जनाएको छ ।
कानुनी व्यवस्था विपरित भए काठमाडौं महानगरपालिका आर्थिक ऐन,२०८० को दफा(२२) को उपदफा (१) बमोजिम हुने महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० को दफा(२) को उपदफा (५) मा करदाताहरुको सम्पत्ति थप भएमा वा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी हुँदा जग्गा वा क्षेत्रफलको थप हुन गएमा देखिएमा थप भएको क्षेत्रफलको कर निर्धारण हुँदा आउने रकममा मात्र जरिवाना सहित कर असुल गरिने व्यवस्था छ ।
यसरी थप भएको क्षेत्रफलको भवन नक्सा स्वीकृत नभएको (अभिलेखिकरणका हकमा) भए सो भवनको वडा कार्यालयको इन्जिनियरले दिएको प्रतिवेदनका आधारमा भवन निर्माण इजाजत जारी भएको दुई वर्ष पछिबाट हिसाब गरी कर निर्धारण गरिने व्यवस्था छ ।
अभिलेखिकरण प्रयोजनका लागी घर/भवनको नक्सा स्वीकृत हुन आएमा ई-जीपीएस प्रणालीमा त्यस्ता नक्सा तथा डिजाइन दर्ता गर्नुपूर्व कर दाखिला गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ।
अभिलेखिकरण माग गर्ने सेवाग्राहीको जग्गामा भवन जन्य संरचना पहिला देखिनै हुने भएकाले मालपोत वा भूमिकर मात्र लिएर नक्सा दर्ता नहुने र गर्न नपाइने हुँदा वडा कार्यालयका इन्जिनियरद्वारा स्थलगत नाप जाँच गरी प्राप्त प्राविधिक प्रतिवेदनका आधारमा प्राप्त क्षेत्रफललाई आधार लिई सम्पत्ति कर निर्धारण गरी कर दाखिला भए पश्चात मात्र घर / भवन नक्सा उक्त प्रणालीमा प्रविष्टि गर्नुपर्ने महानगरले जनाएको छ ।