अर्थमन्त्री र अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीबीच नेपालमा लगानीका सम्भावनाको खोजी गर्ने सहमति



मोरक्को । अर्थ मन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगमका एशिया प्यासिफिक विभागका उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन मोरक्कोको माराकेस पुगेका मन्त्री महतले उर्जा र अन्य निजी क्षेत्रमा निगमको लगानी बढाउने विषयमा उपाध्यक्ष रिकार्डोसँग छलफल गरेका हुन् ।

बैठकमा नेपालबाट अर्थमन्त्री डा. महतका साथैं राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ, अर्थ मन्त्रालयका उपसचिव नारायण ढकाल, अर्थ मन्त्रीका निजी सचिव होम पराजुली र राष्ट्र बैंकका उप निर्देशक टीकाराम खतिवडा, सहायक निर्देशक पुष्पचन्द्र खनाल सहभागी थिए ।

बैठकमा मन्त्री महतले उर्जा क्षेत्रमा निगमलाई लगानी बढाउन आग्रह गरेका थिए ।

उपाध्यक्ष रिगार्डोले कर्जा सूचना नियमन सम्बन्धी ऐन बन्नु पर्ने सुरक्षित कारोबार सम्बन्धिमा कानूनमा संशोधन हुनु पर्ने चासो राखेका थिए ।

मन्त्री महतले वित्तीय पारदर्शिता कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै छिट्टै कर्जा नियमन सम्बन्धि कानून बन्ने र सुरक्षित कारोबार सम्बन्धि ऎन संशोधन हुने बताएका थिए ।

हाल निगमले नेपालमा ५ वटा बैंकका साथैं जलविद्युत परियोजनमा समेत लगानी गरेको छ ।

६ महिनापछि निगम उपाध्यक्ष नेपाल भ्रमण गर्ने र त्यसबखत लगानीका सम्भावनाको खोजी गर्ने सहमति भएको छ ।


क्लिकमान्डु