राष्ट्र बैंकको पछिल्लो निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायोः चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भए पनि मनोवल बढ्ने आशा जगाएको बताएका छन् ।

आइतबार नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत भेला–२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरुलाई ढिलै भए पनि बुझ्ने कोशिस गरेको बताए ।

उनले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरे पनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताए ।

उनले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने काम गरे अर्थतन्त्र पनि सकारात्मक बन्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र निजी क्षेत्रको कारणले मात्रै नभएर सरकार र नियमनकारी निकायहरुको नीतिको कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सबै मिल्नुको विकल्प नभएको बताए । नेपालको जनसंख्याको १ प्रतिशत मानिसहरु पुँजीबजारमा आवद्ध भएकाले सरकारले बेवास्ता गर्न नमिल्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्न आवश्यक रहेको बताए।

उनले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय भएकाले उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताए । घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको उनको भनाइ थियो ।

उनले सरकारले घरजग्गा व्यवसायीहरुलाई हेलचेक्राँई गर्ने र प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको बताए । घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘घरजग्गा व्यवसायलाई सरकारले हेर्ने देष्टिकोण परिवर्तन गर्नुपर्छ । घरजग्गा व्यवसायलाई व्यक्तिगत कर्जामा लोन टु भ्यालु ५० प्रतिशत र शेयर कारोबारमा व्यक्तिगत १५ र संस्थागत २० करोड बनाएको छ । राष्ट्र बैंकले जति पनि गरिरहेको छ त्यो खुद्रे हिसाबले गरिरहेको छ । उद्योग र घरजग्गा व्यवसायीहरुको लागि हकबन्दी लागू गर्नु हुँदैन’ उनले भने ।

त्यस्तै,नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताए ।

अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले सरकारले यस क्षेत्रलाई २०८४ सम्ममा अनिवार्य प्रत्यक्ष लगानीका लागि यति प्रतिशत लगानी गर भन्ने निर्देशन आउनुपर्ने बताए ।

उनले सरकारले प्रत्यक्ष लगानीको निर्देशन दिने हो भने बजारमा १० खर्ब रकम आउने र अर्थतन्त्र चलायमान हुने दाबी गरे ।


क्लिकमान्डु