हरेक दसैंमा किन महँगो हुन्छ हवाई टिकट ?



काठमाडौं । बर्सेनि दसैं आउन एक महिना अघिदेखि नै हवाई टिकट महँगिएको चर्चा हुन्छ । हवाई टिकट बुकिङ स्थलमार्गबाट जाने यात्रुको तुलनामा छिटो पनि खुल्छ । स्थलमार्गबाट यात्रा गर्ने यात्रुका लागि सार्वजनिक सवारीको बुकिङ सोमबार (भोलि) खुल्दैछ तर हवाई टिकट भने ८० प्रतिशतसम्म बुकिङ भइसकेको छ ।

दसैंमा टाढा जानुपर्ने, समयको बचत गर्दै यात्रा गर्ने र छिटो गर्नेहरुले हवाई यात्रा गर्ने गरेका छन् । तर, टिकट नपाउँदा अधिकांश मानिसको यात्रा तालिका प्रभावित हुने गरेको छ ।

दसैंमा एक महिना अघिदेखि नै बुकिङ खुल्ने र सस्तो टिकट थोरै मात्रै हुने हुँदा छिटो सकिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनका अनुसार वर्षमा एकपटक मात्रै यात्रा गर्ने, दसैंमा परिवार भेटघाट गर्न जाने र आफन्तकहाँ जाने-आउनेका चाप बढ्छ । त्यसबेला काठमाडौंबाट बाहिर जाने यात्रु बढी हुने र फर्कने यात्रु कम हुने हुँदा जहाजमा एकतर्फी मात्रै यात्रु हुने गरेका छन् ।

दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढी हुने गरेको भए पनि सोही बेला फर्कने यात्रुचाहिँ बढीमा ३० प्रतिशतको मात्रै अकुपेन्सी (जहाज भराइ दर) हुने सम्बन्धित वायुसेवा कम्पनी बताउँछन् । एकतर्फी यात्रु भरिभराउ भए पनि अर्कोतर्फ सोही रुटबाट फर्कंदा भने खाली हुने भएकाले काठमाडौंबाट जाने यात्रुका लागि दसैंमा फूल फेयर (भाडा दरको अधिकतम लिन पाउने सीमा) मात्रै लागू हुने गरेको वायुसेवा कम्पनीहरुको भनाइ छ ।

‘दसैंमा एकतर्फी यात्रु हुने हुँदा लागत उठाउन सस्तो भाडादर कम मात्रै बिक्री गर्ने गरिएको छ । सस्तो भाडादर दिँदै नदिने भन्ने होइन,’ यति एयरलाइन्सका प्रवक्ता बर्तौला भन्छन्, ‘एक महिनाअघि नै बुकिङ गर्ने यात्रुका लागि एउटा वायुसेवाले ४-५ वटा टिकट दिएका हुन्छन् । महँगो टिकट भने जतिबेला पनि पाइन्छ ।’

उनका अनुसार दसैंका लागि यति एयरलाइन्सका ५० प्रतिशत टिकट बुकिङ भइसकेका छन् । ‘यात्रुको चाप बढी हुने पोखरा र विराटनगरका लागि त ६० प्रतिशत बुकिङ भइसकेको छ,’ उनले भने ।

गत वर्षको तुलनामा यो वर्ष यात्रुलाई भाडादर कम्तीमा १३ प्रतिशतभन्दा बढी नै महँगो भएको छ । यो वर्ष साउनदेखि लागेको हवाई टिकटमा भ्याटका कारण महँगो भएको हो ।

हवाई इन्धनको मूल्य भने गत वर्षभन्दा अहिले घटेको छ । गत वर्ष असोजमा हवाई इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ थियो भने अहिले १३६ रुपैयाँ मात्रै छ । हवाई सिट क्षमता बढेको तथा कम नाफा राखेर वायुसेवा कम्पनीले टिकट दिएकाले नर्मल भाडादर भने केही गन्तव्यमा गत वर्षको भन्दा सस्तो छ ।

दसैंमा हवाई यातायातमा चाप बढी पर्ने भएकाले यात्रुको सेवालाई ध्यानमा राखेर सम्बन्धित वायुसेवाले उडान तालिकासमेत बढाउने गरेका छन् । हाल दैनिक ५० वटा उडान गरिरहेको यति एयरलाइन्सले दसैंको समयमा ६० वटा उडान गर्ने तयारी गरिरहेको छ ।

दसैंमा ढिलो बुकिङ गर्ने यात्रुले माथिल्लो क्लासको टिकट लिनुपर्ने हुँदा बढी पर्ने बुद्ध एयर सञ्चार संयोजक दीपेन्द्र कर्ण बताउँछन् । उनका अनुसार दसैंका बेला सबैलाई यात्रा गर्नैपर्ने भएकाले माथिल्लो क्लासको भाडादर तिरेर यात्रा गर्ने पनि धेरै हुन्छन् ।

‘जसका कारण पनि हवाई यात्रुको चाप बढ्ने गरेको छ,’ उनले भने । अन्य समयमा पनि सस्तोदेखि नै हवाई टिकट खुला हुँदै जाने गर्छ । यात्रु भरिँदै जाँदा माथिल्लो क्लासको टिकट लिँदै जानुपर्ने हुँदा अरु बेला पनि ढिलो टिकट काट्नेलाई महँगो पर्ने गरेको कर्णको भनाइ छ ।

सुर्खेत र तुम्लिङटारको टिकट सकियो

काठमाडौंबाट हवाई यात्रा गर्न चाहने यात्रुले सुर्खेत र तुम्लिङटारको टिकट भने अब नपाउने भएका छन् । यो गन्तव्यमा बुद्ध एयरको दैनिक २-२ उडान छ । उडान थोरै भएको र दुवै गन्तव्यमा रात्रि उडान नहुने भएकाले पनि थप यात्रुलाई सेवा दिन सक्ने अवस्थामा नरहेको सञ्चार संयोजक कर्णले बताए ।

काठमाडौंबाट हुने अन्य सेक्टरमा भने बुद्ध एयरको २०-३० प्रतिशत टिकट बाँकी छ । यात्रु चाप बढी हुने पोखरा, विराटनगरसहितका गन्तव्यमा ८० प्रतिशत बुकिङ भइसकेको छ भने अन्यत्र ७० प्रतिशतसम्म बुकिङ भएको कर्णले जानकारी दिए ।

बुद्धले १६ वटा जहाजमार्फत दैनिक १५९ वटासम्म उडान गर्ने गरेको छ । दसैंको समयमा भने यात्रुको मागअनुसार उडान समय थप गर्न सकिने भएकाले यात्रुले टिकट पाउने तर महँगो भने पर्न जाने कर्णले स्पष्ट पारे ।


क्लिकमान्डु