बझाङ केन्द्रविन्दु भएर चार दिनमा १५ पटक भूकम्प, जानकार भन्छन्- अझै आउन सक्छ
काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मंगलबार गएको भूकम्पको परकम्प रहेको उनले जानकारी दिए ।
‘सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो,’ वरिष्ठ भूकम्पविद् कोइरालाले भने, ‘मंगलबार मझौला खालको भूकम्प गएकामा त्यसका परकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता परकम्प आउन सक्छन् ।’
सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको संकट टर्ने कोइराला बताउँछन् ।
बझाङ केन्द्रविन्दु भएर असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । ५.३ म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।