शिक्षा विधेयक जनतामा लैजानुपर्छ: डा.स्वर्णिम वाग्ले
काठमाडौं । सांसद डा.स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस नभएको बताएका छन् ।
प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक–२०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यो विधेयकमा स्रोतको सुनिश्चितता नै नभएको भन्दै विद्यालय शिक्षा विधेयक जनतामा लैजानुपर्ने बताए ।
प्रतिनिधि सभा नियमावलीमा उल्लेख भए अनुसार जनताको प्रतिक्रिया प्राप्त गर्न प्रचार गरियोस् भन्ने प्रावधानलाई कार्यान्वयन गर्न विधेयक जनतामा लैजानुपर्ने बताए ।
केहि हप्तासम्म कुनै एक जना उपसचिवको गोप्य घर्रामा थन्क्याएर राखिएको विधेयक पर्याप्त छलफलमा नगएको उनको भनाइ थियो ।
वाग्लेले विधेयकमा सरकारबाट रकम उपलब्ध गराउनुपर्ने भएकोले यसबाट प्रत्येक वर्ष सरकारलाई आर्थिक दायित्व पर्न जाने भन्ने कुरा उल्लेख भए पनि विधेयकमा बजेटको कति प्रतिशत रकम खर्च हुँदैछ ? भन्ने मोटामोटी अनुमान पेस हुनुपर्ने बताए । उनले संविधानको मुल मर्मलाई नमिचिकन सार्वजनिक शिक्षाको व्यवस्थापनमा राज्य जिम्मेवार हुनुपर्ने बताए ।