उपकरणमा समस्या देखिँदा साढे ४ घण्टापछि साउदी नपुगी फर्कियो नेपाल एयरलाइन्सको विमान



काठमाडौं । काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज बिहीबार बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौँ-दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए ।

जहाज उडानका क्रममा अन्य जहाज नजिक आएमा संकेत गर्ने उपकरणलाई टिकास भनिन्छ । ‘टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुनसक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ,’ महाप्रबन्धक तिवारीले भने । यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।


क्लिकमान्डु