‘मेड बाई गुगल’मा दुई फोन र एक स्मार्टवाच सार्वजनिक हुँदै



काठमाडौं । टेक कम्पनी गुगलले वर्षेनी आफ्ना उत्पादनकहरु सार्वजनिक गर्नका लागि आयोजना गर्ने कार्यक्रम ‘मेड बाई गुगल’मा बुधबार दुई फोन र एक स्मार्ट वाच सार्वजनिक गर्दै छ ।

अमेरिकाको न्यूयोर्कमा हुने यो कार्यक्रम साँझ ७ बजेर ४५ मिनेटमा हुँदै छ । उक्त कार्यक्रममा कम्पनीले आफ्ना तीन ग्याजेटहरुलाई विश्वभरको बजारका लागि सार्वजनिक गर्दै छ ।

गुगलले फोनमा पिक्सल सिरिजको पिक्सल ८ र पिक्सन ८ प्रो सार्वजनिक गर्दै छ । त्यस्तै, कम्पनीले गुगल पिक्सल वाच २ पनि सार्वजनिक गर्दै छ ।

गुगलले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर)मा लेखेअनुसार यसपटक कम्पनीका उपकरणहरु भारतीय बजारमा पनि उपलब्ध हुने गरि सार्वजनिक हुँदै छ । गुगलका फोन र स्मार्टवाचहरु अन्तराष्ट्रिय स्तरकै लागि उपलब्ध हुने भएतापनि आधिकारिक रुपमा भारत र नेपालजस्तो बजारमा भने सार्वजनिक हुँदैनन् । यसपटक भने कम्पनीले भारतमा पनि आफूलाई विस्तार गर्दै मुख्य गरि ईकमर्श वेबसाइटमार्फत किन्न सक्ने गरि यी फोन र स्मार्टवाच उपलब्ध हुने जानकारी दिएको हो ।

गुगलकाअनुसार पिक्सल ८ र ८ प्रो दुवैमा १२० हर्जको रिफ्रेस रेट भएको ६.१७ इञ्जको डिस्प्ले हुनेछ । दुवै फोनमा जी३ प्रोसेसर हुने र दुवै स्मार्टफोनमा पछिल्लो पटक अद्यावधिक भएको एन्ड्रोइड १४ अपरेटिंग सिस्टम हुने जानकारी दिएको छ । ब्याट्री ब्याकअपमा भने पिक्सल ८ मा ४ हजार ४८४ मेगाएम्पियर प्रति घण्टा (एमएएच)को ब्याट्री रहनेछ भने पिक्सल ८ प्रोमा ४ हजार ९५० एमएएचको ब्याट्रि रहेको छ । दुवै फोनमा फास्ट वायरलेस चार्जिगको सुविधा पनि रहेको छ ।

फोटोग्राफीका लागि निकै उपयुक्त मानिने पिक्सल सिरिजका फोनहरुमा यसपटक भने ट्रिपल (तीन वटा) क्यामेरा हुनेछन् । कम्पनीकाअनुसार पिक्सल ८ मा ५० मेगापिक्सलको प्रमुख र १२ मेवापिक्सलको अल्ट्रावाइट सेन्सर र टाइफ अफ फ्लाइट सेन्सरसहितको क्यामेरा हुनेछ । त्यस्तै, पिक्सल ८ प्रोमा भने ६४ मेगापिक्सलको प्रमुख क्यामेरा र ६४ मेगापिक्सलको अल्ट्रा वाइड तथा ४९ मेगापिक्सलको टेलीफोटो क्यामेरा रहेको छ ।

त्यस्तै, बुधबार सार्वजनिक हुने गुगल पिक्सल वाच २ मा भने १.२ इञ्चको ओलेड डिस्प्ले हुने र ३०६ एमएएचको ब्याट्री हुने बताइएको छ ।


क्लिकमान्डु