नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई भकाभक आईपीओ निष्कासन गर्न अनुमति दियोः सांसद ढकाल
काठमाडौं । सांसद हरी ढकालले धितोपत्र बोर्ड अहिले ढिलोपत्र बोर्ड भएको र नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई भकाभक आईपीओ बाँड्न दिएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नियामक निकायमा भएको गलत नियुक्तीका कारण सेयर लगानीकर्ताको सम्पत्ति तहसनहस भएको दावी पनि गरे ।
‘धितोपत्र बोर्डलाई मैले ढिलोपत्र बोर्ड भन्ने गरेको छु । लगानीकर्ताका लागि काम गर्न बनेको धितोपत्र बोर्डले केही पनि काम गर्दैन,’ उनले भने, ‘भरथेग सप्लाई छोड्नका लागि, नेगेटिभ नेटवर्थ भएका कम्पनीहरुलाई भकाभक आईपीओ बाँडनका लागि धितोपत्र बोर्ड छिटोपत्र बोर्ड भएको छ । त्यसमा केही न केही भएर नै ढिलोपत्र बोर्ड छिटोपत्र बोर्ड भएको हो ।’
ढकालले नियामक निकायलाई राज्यको नियन्त्रणमा राख्न सरकारलाई आग्रह गर्दै अर्थमन्त्रालयको ध्यानाकर्षण समेत गराए । धितोपत्र बोर्डमा सरकारले गरेको गलत नियुक्तीका कारण आज लगानीकर्ताको सम्पत्ति तहसनहस भएको उनको दाबी थियो ।
अर्थमन्त्री मैले भनेको गभर्नरले मानेनन् भनेर पन्छिने काम गरेको उनको तर्क छ । अहिले अर्थमन्त्रालय ठूलो हो की राष्ट्र बैंक ठूलो हो भन्ने प्रश्न रहेको उनले बताए ।
अहिले नेपालको पुँजीबजार ध्वस्त भएको र लगानीकर्ताले खर्बौ रुपैयाँ गुमाएको उनको दावी छ । ‘राज्यलाई एकै महिनामा ३ अर्ब २५ करोडसम्म कर बुझाएको पुँजीबजार ध्वस्त हुँदा अर्थमन्त्री, नियामक नियकालाई कुनै चासो छैन,’ उनले भने ‘यसमा सरकारको गम्भिर ध्यानाकर्षण हुन आवश्यक छ ।’
सेयर बजारमा १२ करोडको सीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगाएको र त्यो हटाउनु भन्न सबै लागि परेको ढकालले बताए । ‘अहिले पूर्व अर्थमन्त्रीहरुले लाइन लागेर यो मुद्दा उठाउनु भएको छ,’ उनले भने, ‘हामीलाई तँ कुटे जस्तो गर, म रोएजस्तो गर्छु भन्ने जस्तो काम गरेको हो की भन्ने शंका लागेको छ ।’
१२ करोडको सीमा लागू भएको २ वर्षपछि बल्ल नेकपा एमाले तातेको पनि उनको दावी छ ।
सांसद ढकालले बैंक तथा वित्तीय संस्थाको सिडी रेसियो ८१/८२ प्रतिशतको हाराहारीमा रहेको बताए । बैंकमा लगानीयोग्य रकम प्रशस्त हुँदा पनि नेपाल राष्ट्र बैंकको गलत नीति र बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण ऋण प्रवाह हुन नसकेको उनले दाबी गरे ।