बंगलादेशमा डेंगुबाट एक हजारको मृत्यु



एजेन्सी । बंगलादेशमा डेंगुबाट यसै वर्ष एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्यांकअनुसार डेंगुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा १ हजार ६ जनाको मृत्यु भएको हो ।

महानिर्देशनालयका पूर्वनिर्देशक बे–नजिर अहमदले सन् २००० पछिको प्रत्येका वर्षको तुलनामा डेंगुबाट मर्नेहरूको सङ्ख्या यो वर्ष उच्च रहेको बताए । ‘यो बंगलादेश र विश्व दुवैमा ठूलो स्वास्थ्य घटना हो,’ उनले भने ।

मृत्यु हुनेहरूमा शिशुसहित १५ वर्षमुनिका १ सय १२ बालबालिका छन् । यो आंकडा सन् २०२२ को तुलनामा भने कम हो । सो वर्ष डेंगुबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो ।

यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेंगुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन् ।

सन् १९६० को दशकबाट बंगलादेशमा डेंगुका केसहरू देखिए पनि सन् २००० देखि यो रोगको प्रकोपको तथ्यांक राख्न थालेको हो ।

डेंगुका धेरैजसो प्रकोप मनसुनका बेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन् तर बंगलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीहरूलाई भर्ना गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेंगुको प्रकोपले बंगलादेशको प्रणालीमा ठूलो दबाब दिएको बताएक थिए ।

लामखुट्टेको टोकइबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राब हुन्छ । अत्यधिक रक्तस्रावका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेबाट सर्ने डेंगुसहित चिकुङ्गुन्या, पहेँलो ज्वर र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छटो र थप फैलिरहेको चेतावनी दिएको छ ।  


क्लिकमान्डु