सेयर बजारमा इन्साइडर ट्रेडिङ भयो, बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्योः अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सूचना लिक हुने, इन्साइडर ट्रेडिङ हुने गरेको भन्दै यसलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्नृ बताएका छन् ।

वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा. महतले भने ‘कतिपय बेलामा इनसाइडर ट्रेडिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ । धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ ।’

सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको उनको भनाइ छ । मन्त्री डा. महतले सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए मात्रै लगानी गर्न अग्रसर हुने बताए । आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको र अहिले चिन्ताको विषय पनि यही भएको उनको भनाइ छ ।

‘बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ’ उनले भने ‘त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्छ । यसैमा लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ ।’

स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको मन्त्री डा. महतले औंल्याए । उनले भने, ‘पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन् ।

च्याटबोर्डको शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा. महतले भने ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ ।’

लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेका मन्त्री डा. महतले जानकारी दिए । उनले भने, ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि आउँछन् । यससँगै हामीले आफूलाई तयारी राख्नुपर्छ । यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’

मन्त्री डा. महतले भने, ‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन् । उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन् । कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ ।’

सेयर बजार अहिले तल झरेको र त्यसका विविध कारण रहेको तथा रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री डा. महतले बताए । उनले भने, ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ ।’


क्लिकमान्डु