करिब १ खर्ब लागतमा ४८० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना बन्दै
काठमाडौं । कर्णाली प्रदेशको कालिकोट जिल्लामा ९२ अर्ब ३ करोड रुपैयाँ लगानीमा फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना बन्ने भएको छ ।
विद्युत उत्पादन कम्पनीले ४८० मेगावाट क्षमताको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणको प्रस्ताव गरेको हो । आयोजना कालिकोटको पचालझरना गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिका तथा रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा बनाउने प्रस्ताव गरिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) का अनुसार बढ्दो उर्जाको माग पुरा गर्नका लागि विद्युतको माग उच्च हुने समयमा विद्यूत उत्पादन गर्न अर्धजलाशय प्रकृतिको जलविद्युत आयोजना आवश्यक भएकाले यो आयोजना निर्माणको प्रस्ताव गरिएको हो ।
यसको लम्बाई करिब ११ किलोमिटर हुने बताइएको छ । आयोजनाको कुल भण्डारण क्षमता ७९७.८ लाख घनमिटर र लाईभ स्टोरेज क्षमता १४२.९ लाख घनमिटर हुने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सुक्खायाममा पूर्ण आपूर्ति स्तर समुन्द्री सतहबाट ९१० मिटर र जलाशयको सतहको क्षेत्रफल २.५१ वर्ग मिटर हुनेछ ।
आयोजनाको मुख्य बाँघ सान्नीगाड खोला र कर्णाली नदिको संगमस्थलबाट करिब १.५ किलोमिटर तल्लो क्षेत्रमा राखिनेछ । मुख्य बाँध रोलर कम्प्याक्टेड कंक्रिट ग्राभिटी प्रकारको हुने बताइएको छ । आयोजनामा ६ वटा स्पिलवे (पानी छाड्ने मार्ग)हरु हुनेछन् ।
प्रतिवेदनकाअनुसार आयोजनाका लागि २ वटा कफर ड्यामको प्रस्ताव गरिएको छ । त्यस्तै, दुई डाइभर्सन सुरुंगहरु पनि प्रस्ताव गरिएका छन्, जसमध्ये पहिलो ११५४ मिटर र दोस्रो ९५४ मिटर लामा गोलाकार आकारका डाइमर्सन सुरुंग रहेका छन् । यी सुरुंगहरु आयोजना निर्माणको क्रममा नदिको बहावलाई मोडेर निर्माण स्थल सुक्खा बनाउन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजनाबाट १५९.६ मिटरको कुल हेड उपयोग गरेर कुल ४८० मेगावाट विजुली उत्पादन गरिने प्रतिवेदनमा बताइएको छ । वार्षिक रुपमा २ हजार ५५२.७१ गिगावाट प्रति घण्टा विद्युतीय उर्जा उत्पादन हुने आयोजनामा सुक्खायाममा २ प्रतिशत र वर्षायाममा ५ प्रतिशत विद्युत आउटेज हुने भएकाले २ हजार ४४७.८८ गिगावाट प्रति घण्टा विद्युतीय उर्जा भने बिक्री योग्य रहेको प्रतिवेदनमा जनाइएको छ ।
प्रस्तावित आयोजनाका लागि सरकारी स्वामित्वमा रहेको र अधिग्रहण गरिनुपर्ने नीजि जमिनसहित ३५३.२५ हेक्टर जमिन आवश्यक पर्नेछ ।
जसमध्ये २८८.९८ हेक्टर सरकारी स्वामित्वको र ६४.२६ हेक्टर जमिन रहेको छ । ३०८ हेक्टर जमिनमा स्थायी संरचना निर्माण हुनेछ । अस्थायी संरचना बाँकी ४४.४८ हेक्टर जमिनमा निर्माण हुने प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाबाट ७४७ घरपरिवार प्रभावित हुने प्रतिवेदनमा जनाइएको छ । जसमध्ये ५३९ घरपरिवारको जग्गा मात्रै प्रभावित हुनेछ भने १०५ घरपरिवारको जग्गासहित घर संरचना पनि प्रभावित हुनेछ । १०३ घरपरिवारको घरसंरचना मात्रै प्रभावित हुनेछ।
५ वर्षको निर्माण अवधि राखिएको आयोजनाबाट विभिन्न किसिमका दक्षता भएका २ हजार १९० जनाले रोजगारी पाउनेछन् ।
आयोजनाका लागि भूमिगत विद्युत गृह प्रस्ताव गरिएको छ, जुन कर्णाली नदि र सान्नीगाड खोलाको संगमस्थलबाट करिब ७.५ किलोमिटर तल्लो भागमा पर्नेछ ।
विद्युत गृहमा ६ वटा ठाडो अक्षय रहेका टर्वाइनहरु जेनेरेटरसँग रहनेछन् । जसमा टर्वाइन र जेनेरेटरको प्रयोग गरेर ५८ घनमिटर प्रति सेकेन्डको पानीको बहाव र १५९.६ मिटरको कुल हेड उपयोग गरि ७९ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यस्तै, वातावरणीय बहावबाट सञ्चालित विद्युत गृहमा २ वटा तेस्रो अक्षय टर्वाइन हुनेछन् । यीनिहरु प्रत्येकले ३ मेगावाट जलविद्युत उत्पादन गर्नेछन् । सम्पूर्ण टवाइन र जेनेरेटर गरि ४८० मेगवाट विद्युती उत्पादन हुनेछ ।
आयोजनामा १९ वटा ट्रान्सफर्मरहरु प्रस्ताव गरिएको छ । उत्पादन भएको विद्युतलाई विद्युत गृहको विपरित किनारबाट सुरु भएर खाँडाचक्र नगरपालिकाको रेंगिल गाउँमा रहेको ४ सय केभीको सबस्टेसनसम्म लैजाने प्रस्ताव गरिएको छ । यसका लागि प्रसारण लाइन पनि प्रस्ताव गरिएको छ ।