९ महिनामा ६ लाख ९२ हजार पर्यटक भित्रिए, सेप्टेबरमा मात्रै ९१ हजार



काठमाडौं । पछिल्लो ९ महिनामा ६ लाख ९२ हजार जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले जारी गरेको अध्यागमन विभागको सन् २०२३ को जनावरीदेखि सेप्टेम्बरसम्मको तथ्यांकअनुसार नेपालमा पर्यटक आगमनमा सुधार हुँदै गएको छ ।

तथ्यांक अनुसार यो वर्षको सेप्टेम्बरमा मात्रै ९१ हजार १२ जना पर्यटक नेपाल आएका छन । गत वर्ष सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यस्तो तथ्यांक २०२१ को सेप्टेम्बरमा ९ हजार ९०७ थियो । कोराना महामारीबाट २०२० पछि घटेको पर्यटक आगमनमा विस्तारै सुधार हुँदै गएको छ । सन् २०२० मा भने जम्मा ५८४ जना मात्रै पर्यटक आएका थिए ।

नेपालमा ३ वर्षपनि सेप्टेम्बरमा आउने पर्यटकको संख्या बढेको देखिएको छ । सन् २०१९ मै ९२ हजार ६०४ जान पर्यटक नेपाल आइसकेका थिए । त्यसपछि कोरोना महामारीले पर्यटन क्षेत्र थलिएको थियो ।

सेप्टेम्बरमा नेपालमा आउने पर्यटकमा सबैभन्दा बढी भारतबाट २८ हजार आएका छन् । उक्त महिना चीनबाट ८ हजार १७४ जना रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार नेपालमा चिनियाँ पर्यटकको संख्यामा पनि सुधार हुँदै गएको छ । कोरोना महामारीअघि भारतपछि बढी पर्यटक पठाउनेमा चीन थियो ।

नेपालमा सेप्टेम्बर महिनामा पर्यटक पठाउनेमा अमेरिका तेस्रो नम्बरमा छ । उक्त देशबाट ७ हजार ३८५ पर्यटक आएका छन । बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बरमा धेरै पर्यटक आउने चौथो नम्बरमा बंगलादेश छ । यो देशबाट ३ हजार ७१६ जना पर्यटक आएका थिए ।

नेपालमा आउन यस्तो पर्यटकमा अस्लेलियाबाट ३ हजार ६८५, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११, जर्मनीबाट २ हजार ८५१, दक्षिण कोरियाबाट २ हजार ८५२ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक आएका छन् ।


क्लिकमान्डु