हुन्डाइ र कियाले ग्राहकबाट किन फिर्ता मागे ३४ लाखवटा गाडी ?



एजेन्सी । गाडी निर्माता कम्पनी हुन्डाइ र कियाले आफ्ना ३४ लाख गाडीहरुलाई फिर्ता मागेका (रिकल) छन् । कम्पनीले अमेरिकामा आफ्ना ३४ लाख गाडीहरुलाई ग्राहकबाट फिर्ता मागेका हुन् ।

कम्पनीले गाडीका मालिक (ग्राहक)हरुलाई आफ्नो गाडी घरबाहिर नै पार्क गर्नसमेत आग्रह गरेका छन् । गाडीको इन्जिन कपार्टमेन्टमा आगो लाग्ने जोखिम भएका कारण कम्पनीले ग्राहकहरुबाट गाडी फिर्ता मागेको हो ।

फिर्ता मागेका गाडीहरु २०१० देखि २०१९ सम्म बजारमा आएका विभिन्न मोडलहरु रहेका छन् । यी मोडलहरुमा हुन्डाइको सान्टा फे एसयुभी र किआको सोरेन्टो एसयुभी पनि रहेको छ ।

अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले बुधबार जारी गरेको विज्ञप्तिकाअनुसार यी गाडीहरुमा रहेको एन्टी लक ब्रेक कन्ट्रोल मोड्युलमा रहेको तरल पदार्थका कारण विद्युतीय गडबडी हुन सक्ने र गाडी पार्क गरेको वा चलाइरहेको बेला आगलागी हुन सक्ने जनाएको छ । यस्तोमा दुई कम्पनीले आफ्ना गाडीहरु फिर्ता मागेर ति सवारीसाधनको एन्टी लक ब्रेक फ्युजलाई नि:शुल्क बदल्न लागेको हुन् ।

किआले १४ नोमेम्बरबाट गाडीका ग्राहकहरुलाई एन्टी लक ब्रेक फ्युज फेर्नका लागि सन्देश पठाउने बताएको छ । त्यस्तै, हुन्डाइले २१ नोमेम्बरबाट यस्तो पत्र पठाउने छ । अमेरिकामा हालसम्म हुन्डाइका २१ गाडीहरु र किआका १० गाडीहरुमा यहि समस्याका कारण आगलागी भएको घटना बाहिर आएका छन् ।

किआले फिर्ता मागेका गाडीका मोडलहरुमा बोर्रेगो (२०१० देखि २०१९ सम्मका मोडल), कैडोजा (२०१४ देखि २०१६), फोर्ट, फोर्ट कुप, स्पोर्टेज (२०१० देखि २०१३), के ९०० (२०१५ देखि २०१८, अप्टिमा (२०११ देखि २०१५, अप्टिमा हाइब्रिड र सोल (२०११ देखि २०१३), रियो (२०१२ देखि २०१७), सोरेन्टो (२०११ देखि २०१४) र रोन्डो (२०१० देखि २०११) रहेका छन् ।

त्यस्तै, हुन्डाइले एलान्ट्रा, जेनेसिस कुप, सोनाटा हाइब्रिड, एक्सेन्ट, अजेरा, वेलोस्टर, एलान्ट्रा कुप, सान्ता फे, इक्वस, वेराक्रुज, टुशाँ मोडलका गाडीहरु फिर्ता मागेर एन्टी लक ब्रेक फ्युज फेर्ने बताएको छ ।


क्लिकमान्डु