डेढ महिनाअघिको घटनामा फिस्टेलका दुई र श्रीको एक हेलिकप्टरलाई प्रतिबन्ध, उडान सुरक्षा उल्लंघनको आरोप



काठमाडौं । हवाई उडान सुरक्षाको गम्भीर उल्लंघन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले दुई वायुसेवा कम्पनीका ३ हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले भिजुअल फ्लाइट रुल (भीएफआर) उडान सुरक्षा नियमको गम्भीर उल्लंघन गरेको भन्दै फिस्टेल एयरका २ र श्री एयरको एक हेलिकप्टरलाई उडानमा रोक लगाएको हो । प्राधिकरणले यी दुई हेलिकप्टरका एस३५० बी३ ई नामक एयरक्राफ्टलाई अनिश्चितकालीन उडान प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार यी दुई वायुसेवाको उडानमा भएको कमी कमजोरीको थप अध्ययन गर्नुपर्ने भएको छ । यी दुबै वायुसेवाका ३ हेलिकप्टरमाथि थप अध्ययन गर्नुपर्ने भएकाले ग्राउन्डेड गरिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

प्राधिकरण स्रोतका अनुसार लुक्ला विमानस्थलमा यी दुई वायुसेवा बादलले ढाकेले अवस्थामा उच्च जोखिम लिएर अवतरण गरेको पाइएको छ । दुवै वायुसेवाको एएस ३५० बी३ नामक हेलिकप्टर अवतरण गर्दा १०० मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा जोखिम लिएको विषयमा प्राधिकरणले थप अध्ययन गर्नुपर्ने भएकाले उडानमा रोक लगाएको हो ।

प्राधिकरणको निर्णयप्रति वायुसेवा कम्पनीहरुले भने गम्भीर असन्तुष्टि जनाएका छन् । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पुरानो मितिको उडानलाई लिएर अहिले प्रतिबन्ध लगाउनु जायज नभएको बताए ।

डेढ महिनाअघिको घटनालाई लिएर अहिले प्रतिबन्ध लगाउनुले आतंक सिर्जना गरेको वायुसेवा कम्पनीहरुले बताएका छन् ।


क्लिकमान्डु