विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया
काठमाडौं । ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ ।
कर्णाली प्रदेशको डोल्पामा अवस्थित सो आयोजनाको कुल क्षमता एक सय ६ मेगावाट छ । स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा बन्ने सो आयोजनाको प्रवर्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई समग्र आयोजनाको अवस्थाबारेमा जानकारी गराउँदै ६ महिनाभित्र निर्माणमा लैजाने तयारी गरिएको जानकारी गराए ।
हाल आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारीसमेत अन्तिम चरणमा रहेको उनको भनाइ छ । कर्णाली प्रदेशमा निर्माण हुन लागेको सो आयोजनाले समग्र प्रदेशलाई उज्यालो बनाउने लक्ष्य राखिएको छ । आयोजनास्थल पुग्न पहुँचमार्ग निर्माण तथा अन्य पूर्वतयारीको काम अन्तिम चरणमा छ । आयोजनाबाट वार्षिक ६२३.४७ गिगावाट घण्टाबराबरको विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।
आयोजना अर्धजलाशय प्रकृतिको हो । यसको डिजाइन बहाव १६.७ घनमिटर प्रतिसेकेन्ड छ । यस्तै कुल ग्रस हेड ७८९.६० रहेको छ । आयोजनाको मुख्य संरचना नगदुल्ला नदीको बायाँ किनारामा छ । पानी फर्काउनका लागि निर्माण हुने बाँधको लम्बाइ ९३ मिटरबराबर हुनेछ । ‘कंक्रिट ग्राभिटी टाइप’को निर्माण हुने बाँध समुद्री सतहबाट दुई हजार ६ सय ९६ मिटरमा रहनेछ ।
आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेसनमा जोडिनेछ । सो आयोजनामा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएलल)ले ४ अर्बबराबरको लगानी गर्ने भएको छ ।
भदौ ९ गते एचआइडिसिएल र प्रवर्धक कम्पनीबीच ऋण स्वीकृत पत्र आदानप्रदान भएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका थिए ।
आयोजना निर्माणका लागि करिब २३ अर्ब लाग्ने अनुमान छ । सबै खालको अध्ययन सकिएको यो आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नविल बैंकलगायतले लगानी गर्ने तयारी भएको छ ।
आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार पाँच कित्ता सेयरको ११ करोड ७१ लाख ५० हजार उपलब्ध गराइसकेको छ । त्यस्तै दोस्रो चरणमा ६ करोड चालु आवमा नै भुक्तानी गरिसकेको छ । आयोजनाको कुल लगानीको ५ प्रतिशत सेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउनेछ ।
विद्युत् खरिद-बिक्री सम्झौतामा तोकिएको तालिकाअनुसार २०८६ असारभित्र आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु हुनेछ । आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशतले हुन आउने १६ अर्ब ९२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइनेछ । ऋणबाहेकको ३० प्रतिशत सात अर्ब २५ करोड स्वपुँजी लगानी जुटाउने तयारी गरिएको छ । सोही कम्पनीले नै ८२.३ मेगावाट क्षमताको को जगदुल्ला ‘ए’ आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ ।
आयोजनाको प्रवर्धक कम्पनीमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशतबराबर सेयर स्वामित्व छ । यस्तै, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर स्वामित्व छ । बाँकी रहने ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
हाल पहुँचमार्ग निर्माणको काम जारी छ । आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । आयोजनाका लागि दुई सय ६० रोपनी जग्गा तथा १४ वटा घरटहरा अधिग्रहण भइसकेको छ ।