सौराहामा १ अर्ब १९ करोड लगानीमा बनिरहेको पाँचतारे रिसोर्टका लागि १ अर्ब ऋण लिँदै



सांकेतिक तस्बिर

काठमाडौं । सौराहामा १ अर्ब १९ करोडको लगानीमा पाँचतारे रिसोर्ट रोयल टुलिप खुल्ने भएको छ ।

सन् २०२० मा खुलेको व्यवसायी रामेश्वर साहको कम्पनी केटिएम हस्पिटालिटी प्रालिले चितवनको सौराहामा ‘रोयल टुलिप चितवन नेपाल’ ब्राण्ड नाममा पाँचतारे लक्जरी रिसोर्ट खोल्न लागेको हो । उक्त रिर्सोटका लागि कम्पनीले १ अर्ब रुपैयाँ कर्जा लिन लागेको हो ।

सौराहामा खुल्ने यो रिसोर्टलाई सन् २०२४ को जुलाईदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको छ । ६४ वटा कोठा रहने रिसोर्टको कुल लगानी १ अर्ब १९ करोड ४० लाख रुपैयाँ रहेको छ, जसमध्ये ८० प्रतिशत रकम कर्जामार्फत लगानी गरिनेछ । हाल रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको छ ।

रिसोर्ट निर्माण गरिरहेको कम्पनी केटिएम हस्पिटालिटीले रिसोर्ट सञ्चालनका लागि व्यवस्थापनको सम्झौता युरोपको शिर्ष होटल चेन सम्हालेको समूह लुभ होटल ग्रुपसँग भएको छ । उक्त समूहले नै रोयल टुलिप ब्राण्डका पाँच तारे होटलहरु विश्वभरमा नै सञ्चालन गरिरहेको छ ।

कम्पनीले हालका लागि १ अर्ब रुपैयाँको कर्जा लिनका लागि रेटिंग गराएको छ । कम्पनीले रेटिंग एजेन्सी इक्रा नेपालबाट ९५ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि बि प्लस रेटिङ पाएको छ भने ४ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ पाएको छ ।


क्लिकमान्डु