एपीआईसम्बन्धी कार्यविधि पारित, अब आवेदन दिएलगत्तै सेयर भेरिफाइड वा रिजेक्टको जानकारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब एक वर्षपछि एपीआईसम्बन्धी कार्यविधि पारित गरेको छ । बोर्डले उक्त कार्यविधि पारित गरेर कार्यान्वयनका लागि सिडिएस एन्ड क्लियरिङमा पठाएको छ ।
सिडिएससीको बोर्ड बैठकले कार्यविधि कार्यान्वयनमा लैजाने निर्णय गर्नेछ । सिडिएससीको बोर्ड बैठकले निर्णय गरेपछि यो कार्यान्वयमा जानेछ ।
कार्यविधि कार्यान्वयनमा आएलगत्तै सेयर लगानीकर्ताले आईपीओमा आवेदन दिएलगत्तै बैंक खातामा पैसा नभएका कारण आवेदन रद्द भएको वा एप्रुभ भएको थाहा पाउन सकिनेछ । अहिले लगानीकर्ताले आईपीओमा आवेदन दिने तर खातामा पैसा नभएका कारण धेरै आवेदन रिजेक्ट हुने गरेको थियो । एपीआईसम्बन्धी कार्यविधि कार्यान्वयनमा आएपछि यो समस्या समाधान हुने भएको छ ।
‘अब सेयर आवेदन दिँदा प्रयोग गर्ने बैंक खातामा पैसा छ भने तुरुन्तै भेरिफाइ हुन्छ, छैन भने रिजेक्ट देखाउँछ,’ सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘यसअघि लामो समयसम्म आवेदन भेरिफाइड भयो कि भएन थाहा नहुने गरेको थियो । जसले गर्दा आवेदन बढी रद्द हुने गरेको छ । अब त्यो समस्या हुँदैन । बैंक तथा वित्तीय संस्थाले आफ्नो सिस्टममा एपीआई लिंक गरेपछि आवेदन परेलगत्तै भेरिफाइड भएको वा नभएको थाहा पाउन सकिन्छ ।’
यसले लगानीकर्तालाई सहज हुने उनको भनाइ छ । ‘कार्यविधि कार्यान्वयनमा आएपछि सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, ब्रोकर कम्पनी, डिपी, नेप्सेलगायत सिडिएससीको तथ्यांक प्रयोग गर्ने सबै निकाय सिडिएससीको सिस्टममा जोडिनुपर्नेछ,’ प्रवक्ता न्यौपानेले भने, ‘उनीहरुलाई आवश्यक पर्ने सबै तथ्यांक एपीआईमार्फत दिइनेछ । आवश्यकताअनुसार त्यो तथ्यांक रियल टाइममा लाइभ हुनेछ ।’