महानगर र ई: को टोलीबीच वार्ता जारी
काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत ई: को टोलीबीच वार्ता सुरु भएको छ ।
मंगलबार अपराह्न सुरु भएको वार्तामा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन) र आन्दोलनरत ई: भने उपस्थित छैनन् । एक सतायता महानगरको कार्यालयअघि उभिएर प्रदर्शन गरिरहेका ई:सँगको वार्ताका लागि महानगरले वार्ता टोली बनाएको थियो । तर, वार्तामा मेयर शाह उपस्थित नभएपछि ई: पनि सहभागी नभएको जनाइएको छ ।
महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।
त्यस्तै आन्दोलनरत ईःको पक्षबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।
वार्ताअघि महानगरकी उपप्रमुख सुनिता डंगोलले आन्दोलनरत ई:सँग भेट गरेकी थिइन् । त्यसक्रममा उनले ई: का मागहरुप्रति महानगर संवेदनशील रहेको बताएकी छन् । यसअघि सोमबार महानगर प्रमुख बालेनले उनीसँग वार्ता गर्न खोजे पनि हुन सकेको थिएन ।