साढे दुई महिनादेखि बनेन निगमको जहाज, मर्मतबाट फर्कने तय नहुँदा दैनिक उडान तालिका प्रभावित



काठमाडौं । नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको ९ एन एकेएक्स नामक एक न्यारोबडी जहाज साढे दुई महिनादेखि उडान नहुँदा निगमको उडान तालिका दैनिक रुपमै प्रभावित भइरहेको छ ।

इन्जिन मर्मत गर्नुपर्ने उक्त जहाजलाई निगम व्यवस्थापनको कमजोरीले २ महिना १० दिनदेखि उडानमा ल्याउन सकेको छैन । साउन १ बाट थन्किएको १५८ सिट क्षमताको उक्त जहाजमा भाडाको इन्जिन राखेर उडान गर्ने तयारी भए पनि निगम व्यवस्थापनको ढिलाइ र अक्षमताका कारण करिब साढे २ महिनादेखि उडानमा छैन ।

निगमको उक्त जहाज १७ सेप्टेम्बरमा इजरायल गएको र २२ सेम्टेम्बरमै फर्कने जानकारी निगमले दिएको थियो । उक्त जहाजले २२ सेप्टेम्बरबाटै नियमित उडान गर्ने गरी तालिका समेत बनाइसकेको भए पनि अहिलेसम्म जहाज आउन सकेको छैन । निगमको जहाज समयमा मर्मत भएर आउन नसक्दा यसका उडान तालिका प्रभावित भइरहेको छ ।

निगमका प्रवक्ता रमेश पौडेल जहाज आउने भनेर तालिका तय भइसकेको भए पनि प्राविधिक कारणले केही दिन ढिलो हुन पुगेको बताउँछन् । उक्त जहाज इजरायलमा इन्जिन फेरेर आउनुपर्ने भएकोले अझै दुई तीन दिन लाग्छ ।

‘जहाज २ महिनादेखि ग्राउन्डेड भएको भनेर बाहिरबाट भन्ने गरिएको भए पनि प्राविधिक कारण मर्मतमा जान ढिलो भएको र आवश्यक मर्मत भएर फर्कन समय लागेको हो’ उनले भने। यो जहाज अब छिट्टै आउने र नियमिन उडान गर्ने जानकारी पनि पौडेलले दिए ।

निगमको यो जहाज मर्मतबाट ५ दिन अगाडि नै फर्कने भनेर दैनिक ३ वटा उडानको नियमित तालिका तय भएको थियो । जहाज आउने टुंगो नभएर हरेक दिन क्यान्सिल हुँदै गएको छ । जहाज आउने टुंगो नभएका कारण टिकट जारी भने नभएको वायुसेवा निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु