नेपालको अर्थतन्त्रभन्दा झन्डै ४ गुणा ठूलो टाटाको आईपीओ आउँदै*



काठमाडौं । नेपालको अर्थतन्त्रभन्दा झन्डै चार गुणा ठूलो रहेको भारतीय व्यापारिक समूह टाटाले भारतकै सबैभन्दा ठूलो प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

११० खर्ब भारतीय रुपैयाँबराबरको सम्पत्ति भएको अनुमान गरिएको कम्पनीले ५ प्रतिशत आईपीओ ल्याउने भएको हो । नेपालको अर्थतन्त्र ५३ खर्ब हाराहारी छ भने टाटाको अनुमानित सम्पत्ति १७६ खर्ब नेपाली रूपैयाँबराबर हुन्छ ।

टाटा ग्रुपलाई हाल उच्च तहको ‘गैरबैंकिङ वित्तीय कम्पनी (एनबीएफसी)का रुपमा वर्गीकृत गरिएको छ, जसको माध्यमबाट टाटा समूहका अन्य व्यवसायलाई आर्थिक रुपमा सहायता भइरहेको छ ।

भारतीय केन्द्रीय बैंक आरबीआईले यस किसिमको कम्पनीलाई तीन वर्षभित्रमा पब्लिक कम्पनीमा जानुपर्ने नियम रहेको जनाइएको छ । आरबीआईले सेप्टेम्बरमा १४ मा टाटा समूहलाई पनि उच्च तहको एनबीएफसी कम्पनीका रुपमा वर्गीकृत गरेको थियो ।

प्रक्षेपणअनुसार टाटा समूहकै कम्पनी ‘टाटा सन्स’को सन् २०२५ सेप्टेम्बरमा पब्लिक कम्पनीमा जाने योजना छ । साझेदारहरुलाई पर्याप्त फाइदा हुने गरी उक्त कम्पनीले पब्लिक कम्पनीमा जाने योजना बनाएको हो ।

हालसम्म भारतीय सेयर बजारमा २ खर्ब १० अर्ब भारतीय रुपैयाँसहित एलआईसी (लाइफ इन्स्योरेन्स कम्पनी)को आईपीओ भारतकै ठूलो आईपीओ हो । हाल गरिएको प्रक्षेपणअनुसार टाटा सन्सको आईपीओको रकम योभन्दा दोब्बरले धेरै हुने देखिएको छ ।

*सम्पादित


क्लिकमान्डु