आइएमईमार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु



काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीहरूले आफ्नो सामाजिक सुरक्षा कोष मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।

विदेशमा रहेका नेपालीले अब विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्ने आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताएका छन् ।

कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई रुपैयाँ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।


क्लिकमान्डु