गत साताका तीन कारोबार दिन लगातार बढेको सेयर बजार आज किन घट्यो ?
काठमाडौं । गत साताको अन्तिम तीन कारोबार दिन लगातार उकालो लागेको नेप्से आइतबार घटेको छ । नेप्से साताको पहिलो दिन आइतबार १९ अंकले ओरालो लागेको हो ।
आइतवार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ अंकमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ अंकले घटेको छ ।
आइतवार कारोबारमा आएका २८५ कम्पनीको ९० लाख ३ हजार कित्ता सेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँमा खरिद-बिक्री भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार ३ अर्ब २६ करोडभन्दा बढीको सेयर खरिद-बिक्री भएको थियो । आज २ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशतले बढेको है । बैंक, वित्त, होटल तथा पर्यटन, विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से घटे पनि आइतबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
शुभम् पावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २४ लाख रुपैयाँबराबरको सेयर खरिद-बिक्री भएको छ ।
सेयर बजारमा ४/१२ को सीमा हट्ने हल्लाका बीच गत साताका अन्तिम तीन दिन नेप्सेमा हरियाली छाएको थियो । तर, ४/१२ को सीमाका विषयमा अन्योल बढेपछि बजार नकारात्मक बनेको हो ।