आईफोन १४ को तुलनामा आईफोन १५ को व्यापार पहिलो दिनमै दोब्बर



काठमाडौं । सेप्टेम्बर २२ बाट सार्वजनिक रुपमा बिक्री सुरु भएको आईफोन १५ को पहिलो दिनकै व्यापार आईफोन १४ को तुलनामा दोब्बर भएको छ ।

भारतमा आईफोन १५ को बिक्री आईफोन १४ को तुलनामा दोब्बर देखिएको हो ।

समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियाकाअनुसार भारतमै बनेका आईफोन १५ सिरिजका मागहरु निकै धेरै देखिएको छ । एप्पलले पहिलो पटक भारतमा नै बनेका फोनहरुलाई समेत सार्वजनिक गरेको छ ।

शनिबारबाट सुरु भएको आईफोन १५ सिरिजको बिक्रीमा भारतमा भने आईफोन १५ र आईफोन १५ प्लसको माग धेरै देखिएको छ । यी फोनहरु भारतमा नै पनि बनेका छन् ।

एप्पलले एक साताअघि आईफोन १५ सिरिजका फोनहरु सार्वजनिक गरेको थियो । चार मोडलमा रहेका फोनहरुको प्रि बुकिंग सुरु भएतापनि बिक्री भने शनिबारबाट सुरु भयो । बिक्री सुरु भएपछि भारतीय बजारमा भने यसले अघिल्लो आईफोन १४ को तुलनामा शतप्रतिशतको उछाल ल्याएको छ ।

भारतीय सञ्चारमाध्यमहरुकाअनुसार भारतमा एप्पल स्टोर अगाडि आईफोन १५ किन्नका लागि लामो लाईन समेत देखिएको छ । भारतमा हाल दुई वटा आधिकारिक एप्पल स्टोरहरु रहेका छन् ।


क्लिकमान्डु