सुस्तामा पुग्यो टेलिफोन सेवा, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता हट्यो
काठमाडौं । पश्चिम नवलपरासीमा पर्ने सुस्ता क्षेत्रमा टेलिफोन सेवा पुगेको छ । लामो समयदेखि भारत र नेपाल बीचको सीमा विवादमा परेर सञ्चार सुविधाबाट बन्चित सुस्तावासीले अब भने नेपाल टेलिकमको सेवा पाउने भएका हुन् ।
सुस्ता गाउँपालिका-४ मा नेपाल टेलिकमले टावर निर्माण गरेपछि त्यहाँका झण्डै ७ हजार मानिसले सञ्चार सुविधा पाउने भएका हुन् ।
यस अघि विवादित क्षेत्र भएकै कारण टेलिफोनदेखि अस्पताल सेवाबाट बन्चित रहँदै आएका उनीहरु सञ्चारका लागि भारतीय सिमको प्रयोग गर्न बाध्य थिए । नेपाल दूरसञ्चार प्राधिकरणले सुस्तामा टावर सञ्चालनमा ल्याएसँगै भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो ।
स्थानीय रविन्द्र जैशवाल वर्षौ देखिको सञ्चारको पहुँच अहिले आएर पूरा भएको बताउँछन् । ‘भारतले हेपेपनि उनीहरुकै सिम समेत प्रयोग गर्नुपथ्र्यो, आफ्नै देशमा फोन गर्न पनि विदेशमा फोन गरे बराबरको शुल्क तिर्नुपथ्र्यो’ उनले भने ।
पश्चिम नवलपरासीमा सूस्तालाई दुई भागमा बिभाजित पारेर बगेको नारायणी नदीको पारी र वारी दुवैतर्फ नेपालको सिम चल्दैन थियो । टावर निर्माण नगरेपछि त्यस क्षेत्रका बासिन्दाहरु भारतीय टेलिकमको सिम प्रयोग गर्दै आएका थिए ।