चीनमा प्रधानमन्त्री प्रचण्डको स्वागत, आजै राष्ट्रपति सीसँग भेटवार्ताको कार्यक्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन पुगेका छन् ।
प्रधानमन्त्री दाहाललाई शनिबार हाङ्जाउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका छन् ।
प्रधानमन्त्री दाहाललाई विमानस्थलमा चिनियाँ बालिकाले स्वागत गरेका थिए ।
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेटवार्ता हुने छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले प्रधानमन्त्रीसँग त्यहीँ भेटवार्ताको तय भएको हो ।
दिउँसो साढे १२ बजे दाहाल र सीबीच पहिलो भेट हुने छ । त्यसक्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ताको कार्यक्रम छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।