सुनको कोटा दैनिक २० किलो बनाउने तयारी, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाउने तयारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाउँदै २० केजी पुर्याउन सिफारिस गरेपछि राष्ट्र बैंकले कोटा बढाउने तयारी गरेको हो ।
सुन आयात तथा विक्री वितरण कार्यविधिमा संशोधन गरेपछि सुन आयातको कोटा बढ्ने छ ।
कार्यविधि राष्ट्र बैंकको सञ्चालक समितिले संशोधन गर्ने छ । ‘मन्त्रालयबाट सुनको कोटा बढाउन सिफारिस आएपछि हामीले कार्यविधि संशोधनको तयारी गरेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘सञ्चालक समितिले कार्यविधि संशोधन गरेपछि बैंक वित्तीय संस्थालाई कोटा वृद्धि गरिएको परिपत्र जारी हुने छ ।’
दैनिक १० केजी सुनले बजारको माग धान्न नसक्ने भन्दै सुन व्यवसायीले कोटा बढाउन माग गर्दै आएका थिए । सरकारको राजस्वमा वृद्धि हुने अवैध सुनको आयात रोकिने भन्दै सुन आयातको कोटा बढाउन सिफारिस गरिएको वाणिज्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
विदेशी मुद्राको सञ्चिति सहज अवस्थामा पुगेकाले सुनको कोटा बढाउने पक्षमा राष्ट्र बैंक रहेको छ ।
२०७८ फागुन २१ सम्म दैनिक २० किलो सुन आयात भइरहेकोमा फागुन २२ देखि १० किलोमा झारिएको थियो ।