भारतमा ब्याट्री उद्योग बनाउने टेस्लाको प्रस्ताव, गाडी उत्पादनको पनि गृहकार्य
एजेन्सी । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले भारतमा ब्याट्री उत्पादन तथा बिक्री गर्ने भण्डारण उद्योग बनाउने प्रस्ताव गरेको छ ।
टेस्लाले भारतमा आफ्नो उद्योग निर्माण गर्नका लागि सहुलियतको आशासहित यस्तो प्रस्ताव पेश गरेको रोयटर्सले जनाएको छ । पछिल्लो समय भारतमा आफूलाई स्थापित गर्न खोजिरहेको टेस्लाले हाललाई ब्याट्री उत्पादन तथा बिक्री गर्ने उद्योग सुरु गर्न खोजेको देखिएको छ ।
टेस्लाले भारतमा विद्युतीय गाडीकै कारखाना स्थापना गर्न भारत सरकारसँग छलफलमा छ । २४ हजार अमेरिकी डलर मूल्यमा बिक्री गर्ने गरि टेस्लाका गाडीहरु उत्पादन गर्ने उद्योग स्थापना गर्न टेस्लाले गृहकार्य गरिरहेको छ । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयःले पनि टेस्लाका मालिक एलन मस्कसँग छलफल पनि गरेका छन् । तर, यो विषयमा कुनै पनि थप विवरण आएको छैन ।
पछिल्लो पटक भने भारतमा भएको बैठकमा ब्याट्री भण्डारण गर्ने कारखाना बनाउने पस्ताव गरेको छ । उक्त कारखानामा सोलार उर्जाबाट रातको समय तथा लोडसेडिङको समयमा उद्योग सञ्चालन गर्न मिल्ने पूर्वाधार बनाउने प्रस्ताव गरिएको छ ।
सरकारबाट छुटको आशा सहित टेस्लाले यो प्रस्ताव गरेको भएता पनि रोयटर्सले उदृत गरेका भारतीय सरकारका स्रोतले भने हालसम्म यो विषयमा कुनै निर्णय नभएको बताएका छन् ।