साइवर सुरक्षा विनियमावली संशोधन हुँदै, प्राधिकरणले माग्यो राय सुझाव
काठमाडौं । साइबर सुरक्षा विनियमावली, २०७७ संशोधन हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले उक्त विनियमावली संशोधनको प्रक्रिया अघि बढाएको हो ।
प्राधिकरणकाअनुसार साइबर सुरक्षा मापदण्ड तथा आईसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउन तथा सूचना र सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्नेतर्फ सेवाग्राहीको विशवसनियता कायम राख्न यो विनियमावली लागु गरिएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ (१९९७)को दफा ६२ को प्रयोग गर्दै विनियमावली लागु गरेको थियो । हाल प्राधिकरणले उक्त विनियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
प्राधिकरणले संशोधन हुने विनियमावलीमा सरोकारवाला तथा सेवा प्रदायकका लागि कुनै समस्याहरु भएमा वा संशोधन गर्नुपर्ने विषयहरु भएमा आगामी १४ दिनभित्र बुँदागत रुपमा राय तथा सुझाव पेश गर्न भनेको छ । यसरी रायसुझाव दिँदा बुँदागत रुपमा दिनुपर्ने र संशोधन गर्नुपर्ने कारणसमेत उल्लेख गर्न प्राधिकरणले जनाएको छ ।