रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राधेराधेसम्म जाम



काठमाडौं । सरकारले बुधबार उद्घाटन गरेर बिहीबारबाट सार्वजनिक रुपमै सुरु गरेको द्रुत बस सेवाका कारण सडक अस्तव्यस्त बनेको छ ।

बिहान ९ बजेबाट ११ बजेसम्म र साँझ ४ बजेबाट ६ बजेसम्म रत्नपार्कबाट सूर्यविनायकका लागि चल्ने द्रुत बस सेवाअन्गर्ततको यातायातको व्यवस्थापन कमजोर हुँदा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त देखिएको छ ।

प्रायः कोटेश्वर क्षेत्रमा हुने जाम द्रुत बस सेवा सञ्चालनमा आएपश्चात राधेराधेसम्म पुगेको छ । दैनिक रुपमा डेढ किमि हुने कोटेश्वर–सूर्यविनायक खण्डको जाम बिहीबार द्रुत बस सेवाका कारण ५ किमिभन्दा धेरै भएको छ । सँगै सर्भिस लेन पनि अस्तव्यस्त बनेको छ ।

सरकारले ४५ मिनेटमा नै रत्नपार्कदेखि सूर्यविनायक तथा सूर्यविनायकदेखि रत्नपार्क आइपुग्ने गरि यो बस सेवाको सुरुवात गरेको थियो । काठमाडौंदेखि बनेपा तथा काभ्रे सडकखण्डमा चल्ने पुरानै बसलाई द्रुत बस सेवाको नाम दिँदै यसको सुरुवात भयो । तर, कमजोर तयारी र व्यवस्थापनका कारण यसले थप ट्राफिक जाम बढाएको छ ।

संविधान दिवसको अवसर पारेर हिजो काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।

उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित मन्त्रालयका अधिकारी चढेर यात्रा गरेका थिए । द्रुत बस सञ्चालनका लागि सडक विभागले रोडमा रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ ।

द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म बिहीबारबाट २५ वटा बसहरू नियमित सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन् । त्यो समयमा यी बस गुड्ने रंग पोतिएका डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन ।

तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ । यी बस ट्राफिकको रातो बत्तीमा पनि रोकिँदैनन् ।

द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहने प्रवक्ता पनेरूले बताए ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ । यो सेवामा बस चढ्नका लागि यात्रुले अन्य सार्वजनिक यातायाता सरहनै भाडा तिर्नु पर्नेछ ।


क्लिकमान्डु