रविना कन्स्ट्रक्सनको व्यापारमा ५७ प्रतिशतको वृद्धि, २ अर्ब ६६ करोड कर्जाको रेटिङ



काठमाडौं । ‘क’ वर्गको निर्माण कम्पनी रविना कन्स्ट्रक्सन प्रालिको व्यापारमा ५७ प्रतिशतको वृद्धि भएको छ । कम्पनीको व्यापारमा आव २०२१ को तुलनामा आव २०२२ मा ५७.७७ प्रतिशतको वृद्धि भएको हो ।

रविना कन्स्ट्रक्सनले २०२१ मा २९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा कम्पनीको व्यापारमा वृद्धि भएर ४६ करोड ७० लाख रुपैयाँको व्यापार भएको छ । अघिल्लो वर्षको तुलनामा २०२२ मा १७ करोड १० लाख रुपैयाँको वृद्धि भएको हो ।

यसअघिका वर्षहरुमा आव २०२० देखि कम्पनीको व्यापारमा कमी आएको थियो । २०१८ मा कम्पनीले २६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । २०१९ मा व्यापारमा वृद्धि भएर ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको २०२० को व्यापारमा कमी आउँदै ३२ करोड १० लाख रुपैयाँको व्यापार भएको थियो । २०२१ मा पनि व्यापारमा गिरावट भएको कम्पनीले २०२२ मा भने पुनः गति लिएको छ ।

सन् १९८७ मा स्थापना भएको रविना कन्स्ट्रक्सन मुख्य गरि भवन तथा सार्वजनिक क्षेत्रका परियोजनाहरुमा काम गरिरहेको निर्माण कम्पनी हो । कम्पनीको स्वामित्व दुई जनासँग रहेको छ, जसमध्ये ७५ प्रतिशत स्वामित्व राम गोपाल श्रेष्ठसँग रहेको छ ।

रविना कन्स्ट्रक्सनको ऋणमा पछिल्ला वर्षहरुमा निरन्तर वृद्धि भइरहेको छ । २०२२ मा जमिन किन्नका लागि कम्पनीले ऋण लिएको थियो । सँगै कम्पनीसँग भएका परियोजनाहरुमध्ये ५६ प्रतिशतको काम तोकिएको समयभन्दा निकै ढिलो भइरहेको छ।
हालका लागि भने कम्पनीले २ अर्ब ६६ करोड २५ लाख रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले रविना कन्स्ट्रक्सनलाई २६ करोड ४८ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि माईनस रेटिङ दिएको छ । त्यस्तै, २ अर्ब ३९ करोड ७७ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि रविना कन्स्ट्रक्सनले ए फोर रेटिङ पाएको छ ।


क्लिकमान्डु