डेढ अर्ब लगानीमा पोखरामा ‘ले ग्लेमर’ ले लक्जरी रिसोर्ट बनाउँदै



काठमाडौं । पर्यटकीय नगरी पोखरस्थित सारङकोटमा ले ग्लेमर लक्जरी रिसोर्ट एण्ड वेलनेस स्पा प्रालिले पाँच तारे स्ट्याण्डर्डको ले ग्लेमर लक्जरी रिसोर्ट बनाइरहेको छ ।

१ लाख ३१ हजार ३५१ स्क्वायर फिट क्षेत्रफलमा २७ वटा स्वीट रुम र ३ भिल्लासहितको रिसोर्ट निर्माण गरिरहेको कम्पनीले सेप्टेम्बर २०२३ मा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । रिर्सोट पोखराको मेथलांग डाँडामा रहेको छ, जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ८.४ किमिको दूरीमा रहेको छ ।

कोठा र भिल्लाबाहेक स्वमिङ पुल, जकुज्जी, लाइब्रेरी, मेडिटेसन हल, कन्फ्रेन्स तथा ब्यांक्वेट हलसहित हुने यो रिसोर्टको लगानी १ अर्ब ५५ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमध्ये ८० करोड कर्जामार्फत र ७५ करोड ८० लाख रुपैयाँ लगानीमार्फत निर्माण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

२०२३ को जुलाईसम्ममा कम्पनीमा लगानीकर्ताहरुले ६२ करोड रुपैयाँ लगानी गरिसकेका छन् । हालसम्म आर्थिक प्रगति ७४ प्रतिशत हासिल भएको कम्पनीले जनाएको छ ।

पाँच तारे स्टेन्डर्डको रहने रिसोर्ट कैलाश ग्रुप अफ कम्पनीकै एक अंशको रुपमा रहेको छ, जुन कम्पनी नेपालको पर्यटकीय क्षेत्रमा लामो समयदेखि राम्रो उपस्थिति भएको कम्पनी हो । बुटिक होटल, टुर्स कम्पनी तथा हेलिकप्टर सर्भिस दिने यो कम्पनीले नै पोखराको ले ग्लेमर लक्जरी रिसोर्ट एण्ड वेलनेस स्पा प्रालिमा साझेदारको भूमिका निभाएको छ । रिसोर्टलाई पूर्ण रुपमा टासी गुरुङको अभिभावकत्वमा व्यवस्थापन गरिएको छ ।

हाल कम्पनीले ८६ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिंग एजेन्सी केयर रेटिङ नेपालले यसलाई ८० करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ६ करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ ।


क्लिकमान्डु